काठमाडौं– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।
दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय मन्त्रिपरिषद्को मङ्सिर १३ गतेको बैठकले गरेको हो।
ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो।
सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउनेछ। अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ।
सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ।