काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्। सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडोभन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन्।
'ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ। किनकि, थोरै हुन्छन्। त्यस्तो गरे सजिलो हुन्छ। यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस्। खोप लगाउने नियमित समय नतोकिकन खुला राख्नुपर्छ। बाहिरबाट आएका मानिसहरुलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ,' सभापति घर्तीले भनिन्।
ओमिक्रोनबाट बच्न रआममानिसमा भय हुन नदिन सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन्। 'यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्वतयारीका लागि मन्त्रालय लाग्नुस्। नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ। त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुईवटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ। अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ। नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरेको छ। त्यसलाई व्यवस्थित गनुपर्छ,’ उनले भनिन्।
सभापति घर्तीले अहिले राजनीतिक मुद्दाभन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन्।