काठमाडौं - आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनलाइ तनावमुक्त गर्न योग विज्ञानले ठूलो भूमिका खेलेको छ। विशेषतः सहरी क्षेत्रमा व्यस्तताको बाबजुद पनि मानिसहरु योगप्रति आकर्षित भएको पाईन्छ।
यसमा संख्यात्मक रुपमा मानिसको संलग्नता बढे तापनि असन्तुलित खाद्य पदार्गको उपभोग, अनियमित खाना खाने प्रवत्तिले गर्दा तुलनात्मक रुपमा योगबाट स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकेको छैन। जसरी योग गर्न उपयुक्त ठाउँ र समयको जरुरत हुन्छ, त्यसरी नै यसलाई प्रभावकारी बनाउन र सकारात्मक परिणाम प्राप्त गर्न व्यक्तिले दैनिक भोजनमा पनि ध्यान दिनुपर्ने हुन्छ।
योगको साथ साथै यसमा निर्दिष्ट खाना सम्बन्धी तौरतरिकालाई अवलम्बन गर्न सकेमा अवश्य पनि योगबाट हुने फाइदा पाउन सकिन्छ। शरीर बलियो र स्वस्थ राख्न, मस्तिष्क स्वच्छ र तनावमुक्त राख्न तथा सकारात्मक भावनाको अभिवृद्धि गर्ने अभिप्रायले गरिने योगको लागि पनि उचित खानपानको व्यवस्था हुन आवश्यक छ। योगमा विशेष प्रकारका भोजन गर्नुपर्ने, विविध प्रकारका खाद्य पदार्थहरु परहेज गर्नुपर्नेजस्ता विद्यमान गलत धारणाको पछि लाग्नुभन्दा शरीरले दैनिक प्राप्त गर्नुपर्ने पौष्टिक तत्वहरु आवश्यक मात्रामा के कस्ता खाद्य पदार्थबाट सहज तवरले प्राप्त गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ।
यसमा माछा, मासु, गुलियो, चिल्लो र मसालायुक्त खाद्य पदार्थलाई भन्दा स्वच्छ, पचाउन सकिने र शरीरमा सजिलै उपयोग हुने किसिमका खाद्य पदार्थलाई बढी प्राथमिकता दिनुपर्छ। आध्यात्मिक विचारधारा अनुसार हरेक व्यक्तिको शरीरमा हुने सत्व, रज र तम तीन गुण खाद्यपदार्थमा पनि हुन्छ। जुन गुण भएको खाद्यपदार्थ व्यक्तिले बढी खान्छ सोही गुण उसको स्वभामा देखिन्छ भन्ने कुरा विश्वास गरिन्छ।
त्यसकारण माछा, मासु, अल्कोहलजस्ता तमोगुण बढी भएको खाद्यपदार्थ भन्दा सागपात, तरकारी, फलफूल, दूधजस्ता सत्वगुणयुक्त खाद्यपदार्थमा जोड दिनुपर्छ। पौष्टिक तथा स्वास्थ्यको दृष्टिकोणले पनि यस विचारधारालाई नकार्न सकिदैन। वर्तमान परिवर्तित जीवनशैलीमा कम पोषण भएका र असन्तुलित खाद्यपदार्थले निम्त्याएको पोषण सम्बन्धी स्वास्थय समस्या कम गर्न यस आध्यात्मिक विचारधारालाई पनि मनन गर्दा बेस नै हुन्छ।
वर्तमान अवस्थामा देखिएको पोषण सम्बन्धी समस्यालाई नियन्त्रण गर्न योग गर्नुको साथ साथै सानाको प्रकृतिमा परिवर्तन गर्नुपर्छ। उमेर बढ्दै गएपछि देखिने स्वास्थ्य समस्याको झण्डै ९० प्रतिशत समस्या खानाको गडबडीले हुने भएकाले खानामा नियन्त्रण गर्नुपर्छ। त्यसपछि मात्र योग प्रभावकारी बन्न सक्छ। मधुमेह, उच्च उक्तचाप, उच्च कोलेस्ट्रोल केही प्रकारको क्यान्सर, मुटु सम्बन्धी रोग, गाउटजस्ता रोग भएका अवस्थामा योग तथा हुलका व्यायाम गर्नुका साथै चिल्लो, क्यालोरी, कोलेस्ट्रोल बढी भएका खाद्यपदार्थ दैनिक खानामा समावेश गर्नु हुँदैन।
योगमा दैनिक भोजनको व्यवस्था गर्दा केही खाद्यपदार्थमा नियन्त्रण गर्नुपरे तापनि पाँचै प्रकारका पौष्टिक तत्व जस्तै – कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन र खनिज पदार्थ पाउने हिसाबले भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ। खासगरी भोजनको योजना गर्दा वनस्पति स्रोतबाट प्राप्त खाद्यपदार्थको समावेशलाई बढी प्राथमिकता दिनुपर्छ।
मांसाहारी खाना छोड्न नसकेको हकमा व्यक्तिले रातो मासुको सट्टा ज्यादै थोरै परिमाणमा मात्र अन्य चिल्लो रहित मासु उपभोग गर्न सकिन्छ। पूरै वनस्पति प्रोटिनको आवश्यकता पुरा हुन सक्छ। यदी उचित रुपमा खाद्यपदार्थको छनोट तथा समिश्रण गरी खाएमा स्तरीय प्रोटिन सस्तो र सुलभ तवरले पाउन सकिन्छ।
वातावरणलाई कुनै पनि प्रकारले असर नपार्ने गरी प्राकृति तवरले उब्जाएको, उचित पकाउने विधि अपनाई तयार पारेको, शरीरको विकास हटाउने तथा शरीर र मस्तिष्कको विकासमा टेवा पु¥याउने खालका खाद्यपदार्थलाई योगको लागि उपयुक्त खाद्यपदार्थको रुपनमा परिभाषित गरिएको छ। यस प्कारका खाना सजिलै पाचन हुने, उपयोग हुने र काम नलाग्ने पदार्थ सजिलै खलास भई शरीर स्वस्थ राख्न मद्दत गर्छ।
ताजा फलफूल, हरियो सागपात तरकारी, पूरै अन्न, दन्न, दूध तथा दूधबाट बनेका परिकार स्वीकारीय खाद्यपदार्थको रुपमा लिइन्छ भने मासु तथा मासुको परिकार, भुटेको, तारेको, गुलियो खाद्यपदार्थको उपभोगमा नियन्त्रण गर्नुपर्ने उल्लेख छ। योगको खाद्य सम्बन्धी सिद्धान्त अनुरुप दैनिक खाने खाना स्वादिलो, सजिलै तयार गर्न सकिने, पोषणयुक्त, चिल्लो रहित, उच्च प्राण दिने वा शक्ति दिने खालको हुनुपर्छ।
एक साधारण स्वस्थ व्यक्तिले योगको साथसाथै प्रतिदिन एक कप अन्न, दई कप ताजा फलफूल, तीन कप ताजा सागसब्जी खाने हो भने आवश्यक पौष्टिक तत्व प्राप्त हुनुका साथै शरीरको तौल पनि विस्तारै ठिक राख्न सकिन्छ र शरीलाई स्वस्थ राख्न पनि सकिन्छ।
दैनिक खाने खानाले व्यक्तिको स्वास्थ्यस्तर कायम गर्ने र शारीरिक तथा मानसिक विकासमा ठूलो प्रभाव पार्ने कुरालाई दर्शनशास्त्रले स्वीकारेको छ। साथै यसले व्यक्तिको आध्यात्मिक विकासमा समेत असर पार्छ भन्ने कुरा उल्लेख गरेको छ। त्यसकारण आजको तनावपूर्ण जीवनबाट केही राहत प्राप्त गर्न सहयोग गर्ने योगको प्रभावलाई सशक्त पार्न भोजनमा विशेष ध्यान दिनुपर्छ।
(जया प्रधानको पौष्टिक आहार स्वस्थ जीवनबाट साभार)