काठमाडौं - औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले नियम विपरित सञ्चालन भएका सात वटा औषधि पसलमा शिलबन्दी गरेको छ।
सर्लाही, महोत्तरी र सिन्धुलीको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमनका क्रममा, पसल दर्ता नभएको, दर्ता नभएका औषधि बिक्रि वितरण गरेको, प्रतिबन्धित औषधि सञ्जित गरेर राखिएको लगायत पाइएपछि सात वटा औषधि पसलमा विभागले शिलबन्दी गरेको हो।
विभागका औषधि निरिक्षक दिपेन्द्र कुमार साह, सरफराज अहमद खाँ र डा चन्देश्वर यादव सहितको टोलीले यही मंसिर २० देखि २४ गतेसम्म सर्लाहीको हरिवन, लालबन्दी, संग्रामपुर इश्वरपु चौलिखा, महोत्तरीको बर्दिवास र सिन्धुलीको दुधौली बजार र सदर मुकाम क्षेत्रका औषधि पसलहरुको अनुगमन गरेको थियो।
महोत्तरीको १, सर्लाहीमा ४ र सिन्धुलीको २ वटा पसलले नियम विपरित औषधि बिक्रि वितरण तथा सञ्जित गरेको पाइएपछि शिलबन्दी गरिएको विभागका औषधि निरिक्षक साहले जानकारी दिए।
शिलबन्दी गरिएकोमा सर्लाहीको सरस्वती हस्पिटल प्रालिमा सञ्चालित राजिव मेडिकल हल, संग्रामपुरम पर्सा २ को राम प्रवेश मंडल, सिद्धि विनायक ट्रेड्रस न्युट्रास्युटिकल्स (रश्मी मेडिकल) परिसरमा सञ्चालनमा रहेको एक कोठा, सिन्धुलीको मोर केयर पोलिक्लिनिक प्रालि दूधौली ९, ह्याण्डस पोलिक्लिनीक र महोत्तरीको बर्दिवास १४ रहेको रितिका सर्जिकल हाउस छन्।
सरस्वती हस्पिटल प्रालिमा सञ्चालित राजिव मेडिकल हलले पसल दर्ता प्रमाण पत्र देखाउन नसकेको तथा औषधि व्यवस्था विभागमा दर्ता नभएका र प्रतिबन्धित औषधिहरु सञ्चय गरेको, सीएमएले औषधिको बिक्रि वितरण गरेको पाइएको थियो।
संग्रामपुर सर्लाहीको राम प्रवेश मंडलमा औषधि पसल दर्ता नगरी सञ्चालन गरेको, प्रमाण पत्र म्याद सकेको भेटेनरीमा दर्ता भएको र दर्ता नभएका र प्रतिबन्धित औषधिहरु सञ्चय गरेर राखेको साहले बताए।
यस्तै सिद्धि विनायक ट्रेडर्स न्युट्रास्युटिकल्सले औषधि सञ्चय गरेको, रितिका सर्जिकलले औषधि पसल दर्ता नगरी सञ्चालन गरेको, मोर केयर पोलिक्लिनिक दर्ता नभई सीएमए र अनमीले सञ्चालन गरेको पाइएको छ। अनुगमनका क्रममा ह्याण्डस पोलिक्लिनिक पनि दर्ता नभएको पाइएको छ। उक्त पसलमा क, ख र ग को औषधिहरु बिना फार्मासिस्ट बिक्रि वितरण गरेको पाइएको थियो।
रितिका सर्जिकल हाउस सर्जिकलमा पसल दर्ता गरी औषधिको बिक्रि वितरण गरेको विभागले जनाएको छ। विभागले करिब ३० वटा पसलमा अनुगमन गरेको थियो।
नियम विपरित सञ्चालन भएको औषधि पसललाई तत्काल सिल गरेर त्यसका सञ्चालकलाई सबै कागजात सहित उपस्थित हुन निर्देशन दिइएको तथा अन्य औषधि पसल हरूलाई अगामी कारवाही को लागी पत्र काटेको साहले बताए।