काठमाडौं- कान्ति बाल अस्पतालमा तीन वर्षे पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु भएको छ।
अस्पतालले आजदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो।
कान्तिबाल अस्पतालका निर्देशक डा अजित रायमाझीले आजदेखि तीन वर्षे यो कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिए।
उनले भने,‘ एक वर्षदेखि हामीले यो कार्यक्रमका लागि पहल गरेका थियौँ। आजबाट कक्षा आरम्भ भएको छ। भर्ना भएका १६ जना विद्यार्थीलाई औपचारिक रुपमा स्वागत गरेका थियौँ।’
यो कार्यक्रम सुरु भएसँगै कान्ति बाल अस्पतालमा भएको नर्सिङ जनशक्ति अभाव पूर्ति हुनुको साथै क्रिटिकल केयरमा समेत सहज हुने उनले विश्वास गरे। चिकित्सा शिक्षा आयोगले यो नर्सिङ कार्यक्रमका लागि अस्पताललाई २० जनाको कोटा छुट्याएको छ।
निर्देशक रायमाझीले बढ्दो सहरीकरणसंगै बच्चाहरुमा पनि रोड ट्राफिक एक्सिडेन्टका घटना बढी रहेको र आकस्मिक तथा आइसियूमा उपचार गर्नुपर्ने गम्भीर केस बढिरहेको भन्दै त्यसका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने बताए।
पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रमका लागि कान्ति अस्पताल र वीर अस्पताल नर्सिङ क्याम्पसको टिमले पाठ्यक्रम बनाएको थियो।