काठमाडौं - केही दिनअघि सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखे, ‘ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टा मात्रको लहरभन्दा ठूलो हुने पनि सुनिश्चित जस्तै भएको छ। खालि त्यो ओमिक्रानको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा हताहती गराउने हुन्छ की केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिदैन।’
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि यसको जोखिमलाई लिएर डा अनुपले झैँ धेरै किसिमको बहस तथा विश्लेषण भइरहेका छन्।
तीव्र गतिमा फैलन सक्ने भनिएपनि यो कत्तिको कडा खालको हो? यसले कत्तिको जटिलता निम्त्याउँछ भन्ने विषय अझै पनि अध्ययनकै पाटोमा छ।
शुक्रबार दिउँसोसम्ममा भारतमा ९० जना बढीमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। दिल्ली, कर्नाटाका, गुजरात, केरला, तमिनाडु, पश्चिम बंगाला र आन्द्र प्रदेशमा ओमिक्रोन भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा ओमिक्रोन संक्रमितको उतारचढावलाई नै मुख्य आधार मानेर नेपालमा जोखिमको अड्कलबाजी गर्न थालिएको छ।
नेपाल ओमिक्रोनको जोखिममा कति छ र किन छ त?
भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।
उनी भन्छन्, ‘भारतसँगको खुल्ला सीमानाका कारण पहिलो र दोस्रो लहरमा पनि कोरोनाले समस्या ल्याएकै थियो। अहिले पनि भारतमा ओमिक्रोन फैलिरहेको जस्तो देखिँदा नेपाल पनि जोखिममै पर्छ।’
युनिभर्सिटी अफ हङकङको एक अध्ययनले डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भएपनि धेरै घातक नभएको देखाएको थियो। अर्थात् डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनले फोक्सोमा कम असर गर्ने गरेको डा पुन बताउँछन्। यसले गर्दा ओमिक्रोन तिव्र गतिमा फैलिएपनि गम्भीर खालको समस्या ल्याउने खतरा कम रहेको देखिएको उनले बताए।
भाइरसले निम्त्याउने लहरको क्रम चलेपनि संक्रमितको संख्या र अस्पताल व्यवस्थापनको समस्या ल्याउँछ/ल्याउँदैन भन्ने कुरा महत्वपूर्ण भएको उनी बताउँछन्। कोभिड १९ विरुद्धको खोप सबैको पहुँचमा पुग्दै गए र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरको जस्तो अवस्था सिर्जना नहुने उनको अनुमान छ।
उनले भने, ‘नेपालमा सबैलाई खोपको पहुँचमा ल्याउन सके र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरमा देखिएको भयावह स्थिति अहिले हुँदैन की भन्ने मेरो अनुमान हो। किनभने दोस्रो लहरमा धेरै व्यक्तिले खोप पाएका थिएनन्। पूर्व तयारी थिएन। अनुभव थिएन।’
खोपले पूर्ण रुपमै ओमिक्रोन भेरियन्टलाई काम नगर्ने भन्ने कुरामा उनी सहमत छैनन्। भाइरस म्युटेसन हुँदैमा खराब नै हुन्छ भन्ने नै नहुने उनी बताउँछन्। यद्यपि अहिले नै ओमिक्रोनको बारेमा सहजै अनुमान लगाउन नसकिने उनले बताए।
‘भाइरस म्युटेसन भएकाले खोपको प्रभावकारितामा केही कमी त आउँछ नै। तर पूर्ण रुपमा काम नै नगर्ने भन्ने कुरामा चाँही म विश्वस्त छैन’ उनले भने।
विज्ञहरुले नेपाल ओमिक्रोनका जोखिममा रहेको बताइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अहिलेनै जोखिममा नरहेको बताउँछ। तर भारतमा ओमिक्रोनको संक्रमित बढ्दै गयो भने नेपाल पनि जोखिममा पर्ने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रा बताउँछिन्। उनी पनि भारतमा हुने संक्रमितको उतारचढावलाई यसको मुख्य आधार मान्छिन्।
उनी भन्छिन्, ‘नेपाल यसको खासै जोखिममा छ जस्तो लाग्दैन। किनभने नेपालमा हालसम्म दुई जनामा मात्र ओमिक्रोन भेटिएको छ। तर नेपालमा संक्रमित बढ्दै गयो भने संक्रमितहरु खुला सीमानाबाट नेपाल आए भने संक्रमण फैलिने संभावना त्यहाँबाट देखिन्छ।’
संक्रमण फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग जोडिएका खुला सीमानामा कोरोना परीक्षण हुनुका साथै निगरानी बढाएको र जीन सिक्वेन्सिङ हुने गरेको उनले बताइन्।
भाइरसको जुनै भेरियन्ट आएपनि खोपको पहुँच बढाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने उनले बताइन्।
तर विगतका दुईवटा लहरको अनुभव हेर्दा मन्त्रालयको तयारी पर्याप्त नभएको विज्ञहरु बताउँछन्। उनीहरु सरकारकै कमजोरीका कारण नेपालमा फेरि पनि ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलन सक्ने भन्दै आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिइरहेका छन्।
नेपालमा हालसम्म कुल जनसंख्याको ३९ दशमलव २ प्रतिशतले खोपको एक मात्रा र ३१ दशमलव ४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्।