काठमाडौं– पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्रिमा रहेको जानकारी पाएपछि काठमाडौंकै एक प्रतिष्ठित अस्पतालमा कार्यरत डाक्टर भीम (नाम परिवर्तन)ले अस्पताल खरिद गर्ने सोच बनाए।
अस्पताल खरिदबारेको तिथि–मिति र साइत हेर्न डाक्टर पशुपतिनाथ मन्दीर पुगे। पशुपतिका भट्टसँग भेट गरी भीमले आफ्नो अस्पताल खरिद गर्ने योजना सुनाए। उनै पशुपतिका भट्टले डाक्टर भीमलाई मणिपाल खरिद गर्न लागेका अर्का व्यक्ति भनेर चिनजान गराए शिवम् विरुमुथुलाई।
पटक–पटक विभिन्न उच्च पदस्थ व्यक्तिलाई ढाँट्दै ठग्दै गरेका ४३ वर्षीय भारतीय नागरिक विरुमुथुले पशुपतिका भट्टलाई समेत आफू मेडिकल व्यवसायी रहेको र पोखराको मणिपाल किन्न लागेको भनेर ढाँटेका थिए। उनको कुरामा विश्वास गरेर भट्टले डाक्टर भीमलाई चिनजान गराईदिए ठग विरुमुथुसँग।
उक्त भेटमा विरुमुथले डाक्टर भीमलाई पनि आफू मेडिकल व्यवसायी भएको र भारतको मणिपाल अस्पताल (जसको शेयर पोखराको मणिपाल अस्पतालमा समेत थियो) का संचालक रन्जन पाई र उनको भाई मोहनदाश पाईसँग राम्रो सम्बन्ध रहेको बताए। आफूले किन्न लागेको अस्पतालका शेयर होल्डरसँग समेत चिनजान र राम्रो सम्बन्ध रहेको बताएपछि विरुमुथुसँग डाक्टर भीम झन नजिक बन्न पुगे।
विभिन्न प्रलोभन र विश्वासमा पार्दै ठगी गर्दै आएका विरुमुथुले डाक्टर भीमको अस्पताल किन्ने योजना सुनेपछि भनेका थिए, ‘तपाईं र म दुवैजना मिलेर पोखराको मणिपाल मेडिकल कलेज खरिद गरी संचालन गरौं। म ६० प्रतिशत लगानी गर्छु। तपाईं ४० प्रतिशत लगानी गर्नुस’ विरुमुथुको योजनामा डाक्टर भीम पनि सहमत भए।
त्यसपछि ह्वाट्स एप, फोन, म्यासेजमार्फत डाक्टर भीम र विरुमुथुको मणिपाल अस्पताल किन्नेबारे पटक पटक कुराकानी हुन थाल्यो। ‘मलाई विश्वासमा पार्न विरुमुथुले भारतमा रहेको मणिपाल अस्पतालका संचालक रन्जन पाईको भाई मोहनदास पाईसँग पोखराको मणिपाल अस्पताल खरिद–बिक्री गर्ने सम्बन्धी भएको कुराकानीको इमेल, इन्भिटेसन लेटर, एग्रीमेन्टको ड्राफ्ट समेत ह्वाट्स एपमा पठाए’ डाक्टर भीमले प्रहरी समक्ष भनेका छन्।
अस्पताल खरिद–बिक्रीका लागि सेयर होल्डरसँग समेत भएको कुराकानी पठाएपछि भीमले विरुमुथुलाई झनै विश्वास गर्न थाले। तर विश्वासमा पार्न विरुमुथुले आफूलाई झुक्याएको भन्ने उनले पत्तै पाएनन्।
विश्वासमा पारेपछि सुरुमा १ करोडको टोकन दिनुपर्ने भयो तपाईं ४० प्रतिशत रकम दिनु भन्दै गत भदौ १८ गते राजधानीस्थित डाक्टर भीमकै घर गएर विरुमुथुले २५ लाख दिए। अझ भीमलाई विश्वासमा पार्न अस्पताल खरिद गर्न नसकेको तपाईको रकम फिर्ता हुन्छ भन्दै सुर्दशन रिसालको नामको एसबिआई बैंकको चेक समेत काटेर विरुमुथले भीमलाई दिए।
२५ लाख रुपैयाँ लगेको केही समयपछि रकम अपुग भयो थप गर्नु पर्यो भन्दै डाक्टर भीमबाट फेरि ९ लाख लगे। तेस्रो पटक १६ लाख गरी भीमबाट विरुमुथुले ५० लाख रुपैयाँ लगे । तर यता मणिपाल खरिदको विषय भने अघि बढ्ने कुरै थिएन। ठग्नकै लागि विरुमुथुले मणिपाल खरिदको बहाना बनाएका थिए। खरिद प्रक्रिया अघि नबढेपछि भीमले रकम फिर्ता माग्न थाले। तर उनको रकम फिर्ता भएन। विरुमुथुले दिएको चेक समेत साट्न जाँदा रकम नभएको थाहा पाएपछि भीमले आफू ठगिएको बल्ल चाल पाए।
त्यसपछि उनी यसबारे थप बुझ्न फेरि पशुपतिका भट्ट कहाँ पुगे। भट्टले समेत पशुपति मन्दिरमा पानी बोक्ने काम गर्ने सुर्दशन रिसाललाई समेत विरुमुथुले ठगी गरेको र नक्कली परिचय दिएर ठगेको बताए। उनीबाट ३९ लाख रुपैयाँ विरुमुथुले ठगी गरेका थिए। त्यसैगरी उनले सिंह थरका अर्का डाक्टरलाई समेत ठगी गरेको पाइएको छ।
ठगीको जाहेरी परेपछि महानगरीय अपराध महाशाखाले विरुमुथुलाई कात्तिक २३ गते बालुवाटारबाट पक्राउ गरेको थियो। उक्त ठगीमा उनकी श्रीमती आस्मा केसी र एनएमबी बैंकका कर्मचारी सञ्जिव मर्हजन समेत संलग्न रहेको पाइएपछि उनीहरुलाई प्रतिवादी बनाइएको थियो। केसी र मर्हजन हाल फरार छन् भने कीर्ते र ठगी मुद्दामा विरुमुथु पुर्पक्षका लागि कारागार चलान भएका छन्।
डाक्टरलाई विश्वासमा पार्न एनएमबी बैंकको ५० लाख कित्ता सेयर
डाक्टरलाई विश्वासमा पारेर ठगी गर्नका लागि विरुमुथुले एनएमबी बैंकको सेयर प्रमाणपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
महानगरीय अपराध महाशाखाले कात्तिक २३ गते बालुवाटारबाट विरुमुथुलाई पक्राउ गर्दा उनीबाट एनएमबी बैंकमा १५ प्रतिशत अर्थात ५० लाख कित्ता सेयर रहेको जनाउने प्रमाणपत्र फेला पारेको थियो। एनएमबिको लेटर हेडमा मलेसियन कम्पनी योङ लियानलाई बोधार्थ दिएर लेखिएको पत्र (प्रमाणपत्र)मा शिवम विरुमुथु उक्त कम्पनीको ‘सीइओ’ भनिएको थियो।
एनएमबी बैंकको लेटरहेडमा जारी भएको उक्त पत्र सक्कली नै रहेको प्रहरी अनुसन्धानमा खुलेपछि डाक्टरलाई विश्वासमा पारेर ठगी गर्न एनएमबी बैंक समेत प्रयोग भएको खुलेको छ। उक्त पत्र जारी गर्ने एनएमबी बैंकका कर्मचारी सञ्जिव मर्हजन भने हाल फरार छन्। (पत्रहरु समाचारको अन्तिममा छन्)
त्यसैगरी विरुमथले रेडक्रसको अन्तराष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक भएको देखि मलेसियन कम्पनी योङ लियानको डाइरेक्टर भएको र एनएमबी बैंकमा ५० लाख कित्ता सेयर समेत रहेको भन्ने कागजात बनाएर विश्वासमा पारी ठगी गरेको खुलेको छ।
स्वास्थ्यमन्त्रीको हस्ताक्षर समेत दुरुपयोग
एनएमबी बैंकलाई ५० लाख कित्ता शेयर भएको प्रमाणपत्र बनाउन लगाएर मात्रै होइन विरुमुथुले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि मन्त्रालयको समेत दुरुपयोग गरेर विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ठगी गरेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सवारी पासको पत्र समेत उनले बनाएका थिए। सह–सचिवको हस्ताक्षर भएको २०७८ वैशाख १४ गते जारी भएको पत्र भेटिएको थियो। अनुसन्धानका क्रममा उक्त पत्र नक्कली रहेको खुलेको छ।
विरुमुथुले प्रभावमा पारेर ठगी गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एप्रिसेसन लेटर फ्रम गभर्मेन्ट अफ नेपाल लेखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दस्तखत तथा लेटर प्याडको समेत दुरुपयोग गरेको खुलेको छ। नाम शिवम विरुमुथु, पद डाइरेक्टर, संस्था आइसिआर लगायतको विवरण राखी मेडिकल अधिकृत डा नवराज जोशी, उपसचिव भानुभक्त न्यौपाने, सहसचिव दामोदर रेग्मीको दस्तखत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छाप तथा लेटरप्याड समेत कीर्ते गरेको पाइएको छ।
नोट: विरुमुथुले प्रहरीलाई दिएको बयान भोलि प्रकाशित गर्नेछौं।