दमौली– तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो।
विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको उनले बताए। खोप लगाउने व्यवस्थापन भने स्थानीय तहले मिलाउने उनले जानकारी दिए।
जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ। ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ।
बन्दिपुर गाउँपालिकाले पुस ६ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आठ वटा खोपकेन्द्रमार्फत् १५ वटा विद्यालयका विद्यार्थीलाई पहिलो मात्राको खोप लगाउने स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए।
सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।