काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।
प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ। उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।
संक्रमितमध्ये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।