काठमाडौं- संसदीय समितिले मडिकल कलेजहरुमा देखिएको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ।
सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ।
यस अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै समितिका सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो, सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन्। उनले बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारवाहिको दायरामा ल्याउन पनि निर्देशन दिइन्।
पछिल्लो समय मेडिकल कलेजहरुले बिद्यार्थीहरुबाट विभिन्न बहानामा अतिरिक्त शुल्क माग गर्दै आएका छन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले जारी गरेको सूचना अनुरुप विद्यार्थीको भर्ना लिन अटेरी गरेको पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।
चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्क लाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने भनेपनि कलेजहरुले भने आयोगको निर्देशनको पालना गरेका छैनन्। शिक्षण संस्थाको होस्टेल, मेश जस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने र काउन्सिल रजिष्ट्रेशनजस्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने आयोगले बताइसकेको छ।