काठमाडौं- भारतका 'मोटिभेसनल स्पिकर' तथा लिडरसिप ट्रेनर (प्रशिक्षक) डा विवेक विन्द्राले नेपालका विभिन्न क्षेत्रमा संलग्न लिडरहरुलाई प्रशिक्षण दिने भएका छन्। विभिन्न आठ विधामा विश्वकीर्तिमान राखेका डा विन्द्राले आगामी माघ ७ गते एक दिने प्रशिक्षण दिन लागेका हुन्।
‘एक्स्क्लुसिभ लिडरसिप’ नामक उक्त कार्यक्रम जिनियस इन्साइडर, बैंक तथा वित्तीय संघ नेपाल (सीबीफिन) र ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको संयुक्त आयोजनामा हुन लागेको हो। यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहेको जानकारी दिइएको छ। व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्न उक्त प्रशिक्षणले सहयोग पुग्ने आयोजकले जनाएका छन्।
डा विन्द्राको प्रशिक्षण रहने कार्यक्रमले कोरोना महामारीबाट संकटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक उत्प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ।
उक्त प्रशिक्षणले कोभिड-१९ को माहामारीबाट संकटग्रस्त बनेका उद्यम तथा व्यवसायहरुको पुनरुत्थान, वर्तमान अवस्थामा गहिरिँदो समस्याको रुपमा देखापरेको तरलता अभाव, यसका कारण, समाधानका उपायहरुका दिने उनीहरुको दाबी छ। साथै, नयाँ उद्यम तथा व्यवसायको सञ्चालन र व्यवसायलाई दीर्घकालीन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयमासमेत हुने प्रशिक्षणले समग्र नेपाली उद्यमी तथा व्यवसायीहरुलाई बहुपयोगी एवं लाभदायी भएको दाबी गरिएको छ। आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारेसमेत प्रशिक्षणमा समावेश गर्दै डा विन्द्राले सकारात्मक सोच र ऊर्जाका साथ कसरी व्यवसायमा अघि बढ्ने भन्नेबारेमा हौसला र उत्प्रेरणा दिने आयोजकले जनाएका छन्।
कार्यक्रमबाट प्राप्त हुने ज्ञान, सीप र कलाले नेपाली व्यवसायहरुको विकास एवं विस्तार, नेपाली उत्पादनलाई प्रतिष्पर्धी बनाई विश्वबजारमा चिनाउन, समग्र अर्थतन्त्रलाई बलियो र दिगो बनाउन समेत महत्त्वपूर्ण सहयोग पुग्ने आयोजक जिनियस इन्साइडरका अध्यक्ष डा राहुल सरावागीले बताए। कार्यक्रममा शिक्षाविद् भोजराज शाहले प्रशिक्षणमा सहभागी उद्यमीलाई वित्तीय क्षेत्रमा देखापरेको तरलता, आर्थिक मन्दीलाई सामना गर्न नयाँ चिन्तन तथा बहुआयामिक विचार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
एक दिने प्रशिक्षणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कूल, कलेज, उद्योग, व्यवसायका अध्यक्ष, सञ्चालक तथा उच्च पदस्थ अधिकारीहरु गरी करिब २५० जना सहभागी हुने छन्।
को हुन् डा विवेक विन्द्रा?
डा विवेक विन्द्रा बडा बिजनेस डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। विभिन्न प्रकारको व्यावसाय तथा उद्यम सञ्चालनमा सफल व्यक्तित्व भएका उनले अन्तर्राष्ट्रिय तहमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रशिक्षण दिँदै आएका छन्।
डा विन्द्राले विगतमा शून्य अवस्थादेखि सफल व्यवसायी भएका अन्तर्राष्ट्रिय व्यक्तित्वको कार्यशैली, जोखिम वहन गर्ने सक्षमताका विषयवस्तुसमेत प्रस्तुत गर्दै आएका छन्। उनले एक वर्ष अर्थात् १५/१६ महिनाको अन्तरालमै आठ विधामा 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा नाम लेखाउन सफल भएका थिए।