काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप भण्डारणमा कुनै समस्या नभएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले कोरोना विरुद्धको खोप भण्डारणमा कुनै समस्या नभएको बताएका हुन्।
हाल देशभरका खोप भणर केन्द्र तथा आपूर्ति व्यवस्थापन केन्द्रहरुमा १ करोड १८ लाख ४९ हजार ८११ डोज खोप भण्डारणमा राखिएको डा मरासिनीले जानकारी दिए।
उनका अनुसार प्रदेश १ मा ३ लाख ३२ हजार १३५ डोज, प्रदेश २ मा १३ लाख १८ हजार ६८९ डोज,बागमती प्रदेशमा ३ लाख २१ हजार ३१५ डोज खोप भण्डारणमा रहेको छ।
यस्तै, बागमती प्रदेश अन्तर्गत टेकुमा पनि ३ लाख ९ हजार ९१८ डोज खोप भण्डारण रहेको छ।
डा मरासिनीका अनुसार गण्डकी प्रदेशमा ५ लाख २४ हजार ५२५ डोज, लुम्बिनी प्रदेशमा ६ लाख ३१ हजार ८९७ डोज, सुदूरपश्चिम प्रदेशमा ४ लाख ४९ हजार ७९० डोज र संघीय खोप भण्डारमा ७७ लाख ८९ हजार ५५७ खोप भण्डारणमा रहेको छ।
डा मरासिनीका अनुसार खोप भण्डारणका लागि महाशाखाले केही समय अघि मात्र ८ वटा ‘वाकिङ कुलर’ थप गरेको थियो। ८ वटामध्ये २ वटा टेकु, २ वटा पथलैयाको केन्द्रीय खोप भण्डारण केन्द्र, २ वटा हेटौंडा र २ वटा बुटवलमा व्यवस्थापन गरिएको छ।
खोप भण्डारणका लागि युनिसेफले अल्ट्रा कोल्ड चेन फ्रिजर सहयोग गरेकाले पनि समस्या नभएको उनले जानकारी दिए।
‘अहिलेलाई हामीसँग पर्याप्त खोप भण्डारणहरु छन्,’ डा मरासिनीले भने, ‘१ करोड भन्दा बढी डोज खोप भण्डारणमै छन्।’ उनले विगतका कोल्डचेन र अहिले विस्तार गरिएका फ्रिजर र कुलरका कारण अझै धेरै खोपहरु भण्डारणमा समस्या नहुने जानकारी दिए।
भण्डारणमा पर्याप्त खोप भएपछि सरकारले खोप अभियानलाई समेत तीव्रता दिने तयारी गरेको छ।