चितवन- भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ। चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो। हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ।
थप चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ। बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ। अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ। बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो। सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ।
उनका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो। नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ। पौडेलका अनुसार पहिलो वर्ष रु तीन करोड दुई लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा रु २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा रु १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।
चालू आर्थिक वर्षमा रु २५ करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ। गत महिना अस्पतालले रु तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ। रासस