काठमाडौं– बालबालिकालाई फाइजर खोप लगाउन आश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५६० मात्रा आगामी मंगलबारसम्ममा आइपुग्ने भएको छ।
कोभ्याक्स मार्फत शुन्य दशमलब ३ एमएलको ६ लाख ६४ हजार ५६० सिरिन्ज आगामी मंगलबारसम्ममा आउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिन्जि आउन लागेको डा मरासिनीले बताए।
उनका अनुसार फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक भने आज नेपाल आइपुगेको छ। घोलक भनेको फाइजर खोपलाई पातलो बनाउने सोडियम क्लोराइड मिश्रित तरल पदार्थ हो।
फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ। यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सूरु गरिएको भएपनि सिरिन्ज अभाव भएपछि खोप अभियान नै स्थगित भएको थियो। मंगलबारदेखि काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप लगाउने कार्यतालिका बनाइएको थियो। तर सिरिन्ज नहुँदा कार्यक्रम स्थगन भएको थियो।
कोभ्याक्स मार्फत गत शुक्रबार नेपालमा ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आएको थियो। त्यतिबेला नै घोलक र सिरिन्ज नआएका कारण कार्यक्रम केही दिन ढिला हुन पुगेको हो।
अबको एकसातामा सिरिन्ज आएपछि बालबालिकाका लागि खोप अभियान पुन: सुरु हुने डा मरासिनीको भनाइ छ।
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन थप खोप तथा सिरिन्ज आयत गर्न प्रक्रिया पनि अगाडि बढाइसकेको डा मरासिनीले बताए।