काठमाडौं- नेपालमा कोरोना संक्रमण बढ्को क्रममा रहेको छ। थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले उपत्यका बाहिर पनि एस जिन स्क्रिनिङ गर्ने भएको छ। नेपालका ६ वटा अस्पतालमा एस जिन स्क्रिनिङ गरिने भएको छ।
मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ।
यसका साथै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
“ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राद्वारा आज जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।”
यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। १ हजार १४६ पोजिटिभ नमुनाहरूको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो। एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस विज्ञप्ति: