विगतका बर्ष जस्तै यस बर्ष पनि जनवरी ८ का दिन गिजा, दाँत र योसँग सम्बन्धित अन्य भागहरु बारे जनचेतना फैलाएर राष्ट्रिय गिजा दिवस मनाइँदैछ। गिजा र यससँग सम्बन्धित अन्य भागमा आउने समस्यालाई सामान्य रुपमा लिइन्छ र दुखाई, पिडा साथै कुरुपता नआउन्जेलसम्म महत्वका साथ हेरिँदैन। कहिलेकाहीँ गिजाबाट रगत आयो, गिजा सुन्नियो, मुख गन्हायो भरेर मान्छे चिन्तित देखिन्छ। तर विशेषज्ञ चिकित्सकसम्म कहाँ र कसरी उपचार गर्ने भन्ने बारेमा धेरैलाई जानकारी छैन। अझ गिजा सम्बन्धित मात्र विशेषज्ञ विधा छ भन्ने नै धेरैमा जानकारी नै नहुनसक्छ।
गिजा हाम्रो दाँतलाई वरिपरीबाट घर्ने नरम तन्तु हो। यसले दाँतलाई मजबुत राख्ने, राम्रो र आकर्षक देखिन सहयोग गर्ने र गिजा मुनिको हड्डीलाई समेत छोपेर त्यसको सुरक्षा गर्ने गर्दछ। गिजा सम्बन्धित विशेषज्ञ विधाले गिजाको मात्र नभएर दाँतलाई मजबुत राख्ने हड्ड्डी, दाँत र हड्डीलाई जोड्ने तन्तुहरु सबैमा आउने समस्याहरुको सम्बोधन गर्दछ। उक्त विधालाई पेरिओडोन्टिक्स भनिन्छ।
गिजा तथा यस वरिपरीका सहयोगी भागहरुमा निम्न समस्याहरु आउन सक्छन्
१. गिजा सुन्निने र पाक्ने: गिजा विभिन्न कारणले सुन्निने गर्दछ। सामन्यतय गिजामा फोहोर जम्नाले गिजामा संक्रमण भइ सुन्निने, दुख्ने र नराम्रो देखिने गर्दछ। यस्तो फोहोरलाई प्लेग र क्याल्कुलस भनिन्छ। १ ग्राम प्लेगमा अरबौं ब्याक्टेरिया रहन्छन्, जुन अत्यन्त ठूलो संख्या हो। यस्ता व्याक्टेरिया निकै घातक हुन्छन्। यी व्याक्टेरियाहरुले उत्पादन गर्ने घातक रसायनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीमा असार गरेर दाँत र हड्डी दुवै खिइने गर्दछ र अल्प आयुमै दाँत हल्लिने र झर्ने गर्दछ।
२. मुख र सास गन्हाउने: गिजामा फोहोर जम्नाले मुख गन्हाउने समस्या आउन सक्छ।
३. गिजाबाट रगत बग्ने: गिजा संक्रमणले सुन्निनाले पनि रगत बग्न सक्छ भने विभिन्न औषधिको सेवन, विभिन्न रोगहरुले गर्दा समेत गिजाबाट रगत बग्ने गर्दछ।
४. गिजाले दाँतलाई बिस्तारै छाड्दै जाने, गिजा तल सर्ने जसले गर्दा हड्डी,खिइने दाँत सिरिंग-सिरिंग गर्ने, दाँत हल्लिने।
५. गिजामा घाउहरु आउने: तनाव, पौष्टिक आहारको कमी,शरीरको प्रतिरक्षाको कमीले गिजामा घाउ आउन सक्दछ।
६. गिजामा मासु पलाउने: सामान्यदेखि जटिल रुपमा गिजामा मासु पलाउने गर्दछ।
७. गिजाको क्यान्सर हुने: सुर्ती, खैनी, सुपारी आदीको सेवन गर्नाले गिजाको क्यान्सर हुने गर्दछ।
गिजाको समस्याहरुको रोकथाम गर्ने उपायहरु
१. दिनमा दुई पटक खाना खाइसकेपछि राम्रोसंग दाँत माझ्ने
२. खाना खासकेपछि नियमित रुपले कुल्ला गर्ने
३. नियमित रुपमा हरेक ६-६ महिनामा चिकित्सकलाई दाँत, गिजा परीक्षण गराउने र आवश्यक परेमा मेसिनद्वारा दाँतको सफाई (स्केलिङ) गर्ने।
४. शरीरमा मधुमेह लगायतका समस्याहरु भएमा फिजिसिएनको सल्लाह अनुरुप उपचार गर्ने।
५. विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी क्षेत्रमा जानुहुनेहरुमा अधबैंसे उमेरमै गिजाको अत्याधिक समस्या आएर दाँत नै उखेल्नुपर्ने अवस्था विद्यमान रहेकोले समय-समयमा गिजा सम्बन्धी परीक्षण गर्नुपर्ने जरुरी देखिन्छ।
गिजाको समस्याहरुको उपचार गर्ने पद्दतिहरु:
१. गिजा सम्बन्धी जुनसुकै समस्याको निदानका लागि पहिलो चरणमा दाँतको सफाई नै मुख्य उपाय हो। आफूले गरिने सफाइका अलावा मेसिनको सहायतामा चिकित्सकद्वारा गरिने सफाइ (स्केलिङ र पोलिसीङ) रोग निदानका लागि महत्वपूर्ण मानिन्छ। अधिकांश समस्याहरु पहिलो चरणको उपचारबाट समाधान भएता पनि केहि समस्याहरुलाई गिजा रोग विशेषज्ञबाटै शल्यक्रिया गराउनुपर्ने हुन्छ।
२. गिजा सम्बन्धी शल्यक्रियाको बारेमा अधिकांश जनमानसमा ज्ञान नभएको पाइएको छ। यस किसिमको शल्यक्रियामा गिजालाई दाँत र हड्डीबाट छुट्यार भित्र रहेको रोगी तन्तु र फोहोरहरु हटाएर कृतिम हड्डी/ हड्डी बनाउने तत्व राखेर दाँतलाई मजबुद बनाउने हड्डी वृद्दी गराइन्छ।
३. दाँत निकालेपछि त्यसलाई पुनस्थापना नगर्ने हो भने बिस्तारै गिजामुनिको हड्डी क्षय हुने र यसका कारण विशिष्ट उपचार विधि मानिएको प्रत्यारोपण समेत गर्न नमिल्न्ने तथा गरिएमा पनि सोको नतिजा दीर्घकालिनसम्म टिकाउ नहुन सक्छ।
त्यसकारण राष्ट्रिय गिजा दिवसको उपलक्ष्यमा सम्पूर्ण सर्वसाधारणले गिजा स्वास्थयको ख्याल राख्दै आफ्नो दाँत, गिजा र समग्रमा मुखाकै स्वास्थ्यलाई मजबुद बनाउनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु।
(लेखक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेरिओडोन्टोलोजी तथा ओरल इम्प्लन्टोलोजी विभागको आवासिय चिकित्सक हुन्।)