काठमाडौं - सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्।
पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। विरोध स्वरुप उनीहरु बिहान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए।
उनले भने, ‘गुणराज लोहनी छोटो समयमा अवकाश हुँदै हुनुहुन्छ। परिवर्तन नै गर्ने हो भने लामो समयको लागि डाक्टर ल्याउनुपर्छ। स्वास्थ्य मन्त्रालयमा रहँदा नै उहाँले वीर अस्पतालको विरोध गर्नु हुन्थ्यो। त्यस्तो व्यक्तिलाई नियुक्त गरेर ल्याउने प्रयास भएको छ। त्यसको विरोधमा नै हामी धर्नामा बसेका हौँ।’
अस्पतालको विकास देख्न नचाहने व्यक्तिलाई नै सरकारले प्रमुख बनाएको उनीहरुको भनाई छ। कर्मचारीको समस्या समाधान गर्ने, अस्पतालको सुधार र विकासका लागि काम गर्ने र दीर्घकालीन योजना भएका व्यक्तिलाई अस्पतालको प्रमुख बनाउनुपर्ने उनीहरुको माग छ।
उनीहरु भन्छन्, ‘तीन महिना, ६ महिनामा पदाधिकारी परिवर्तन गरिरहने हो भने समस्याको समाधान आउँदैन। अस्पतालको विकास हुँदैन। यसले कुनै निकास आउँदैन। पटक पटक नेतृत्व परिवर्तन गरिरहनु हुँदैन।’
राष्ट्रिय सभा निर्वाचनको आचार संहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औँ तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारी समेत नभएको कर्मचारीहरुको आरोप छ।