काठमाडौं- नेपालमा पछिल्लो एक हप्तामा कोरोना भाइरस संक्रमण रफ्तारले बढेको छ। गत पुस २२ गते नेपालमा ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। तर बुधबार एकैदिन उक्त संख्या बढेर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ११ हजार ६ सय ९० पुगेको छ। यसरी हेर्दा संक्रमित संख्या एक हप्तामै दोब्बरले बढेकाे छ। यसअघि संक्रमित संख्या २०० देखि ३०० वरपर रहेकोमा पुस २२ गते ५४० जनामा संक्रमण पुष्टि भयो।
त्यसपछि लगातार संक्रमण उकालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पुस २३ गते ९६८ जना थपिएका थिए। यसैगरि पुस २४ गते ९४४ जनामा संक्रमण पुष्टि भएको थियो। यसैगरि पुस २५ गते ११६७ र पुस २७ गते २४४४ भेटिएका थिए। तर बुधबार एकैदिन ३०७५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण दर पनि तिव्र रुपमा वृद्धि भएको छ। पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर बुधबार सम्म २७ प्रतिशत पुगको छ। पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा संक्रमण पुगेको थियो। पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो।
यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल संक्रमण दर रहेको थियो।
ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेका कारण यो संख्या अझै बढ्ने देखिन्छ। यही हिसाबले बढ्ने हो भने माघको पहिलो सातातिर दैनिक संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ।