काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा चिकित्सक सहित ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
एकैपटक ६० भन्दा बढी चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।
उनका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा एकैदिन ६० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालको मेडिकल आइसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गरी उनको उपचारमा खटिएका चिकित्सक, नर्सहरु लगायत स्वास्थ्यकर्मीको परीक्षण गर्दा कोरोना पुष्टि भएको डा काफ्लेको भनाइ छ।
उनले भने, ‘मेडिकल आइसीयुमा भएका बिरामीको कोरोना देखियो, उनको केयरमा खटिएका नर्सहरु, अर्थोपेडिक्स डाक्टरहरु, रेजिडेन्ट डाक्टर, एनेस्थेसियाका चिकित्सक, फार्मेसी, अस्पतालका सवारी चालक लगायत सबैथरीका कर्मचारी पोजिटिभ देखिएको छ।’
आज बिहान र दिउसो दुईपटकमा आएको रिपोर्टमा ६० भन्दा बढीमा संक्रमण देखिसकेको भन्दै डा काफ्ले परीक्षण गराएकाहरुको रिपोर्ट आउन अझै बाँकी रहेको बताए।
संक्रमित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको संख्या अझै बढ्न सक्ने डा काफ्लेको भनाइ छ।
एकैपटक धेरै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको डा काफ्लेले बताए।
‘हाम्रो अस्पतालको सेवा त प्रभावित भइसक्यो, मेरै बिरामी अप्रेसन गर्न ठिक्क परेको पोजिटिभ आयो,’ उनले भने, ‘अर्थोपेडिक्स सर्जन पोजिटिभ छन्, अर्थोपेडिक्सको इमर्जेन्सी सर्जरीका बिरामी छन्, डेलिभरी गर्ने पनि छन्, एनेस्थेसियाको आकस्मिकमा पनि समस्या छ।’
डा काफ्लेले हालसम्म अस्पतालमा सेवा बन्द नै नगरिएपनि वार्डहरुमा सिफ्ट गर्ने नर्सहरु अपुग भएको बताए।
ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएपछि वार्डहरु मर्ज गरेर सञ्चालन गर्ने तयारी भइरहेको डा काफ्लेले बताए।
उनका अनुसार बाल रोग वार्ड दुई वटालाई मर्ज गरेर एउटा मात्र बनाइएको छ। यस्तै अर्थोपेडिक्सको ३ वटा जनरल वार्डलाई पनि मर्ज गरिँदै छ।
मिर्गौला प्रत्यारोपण सेवा बन्द गर्ने वा नगर्ने भनेर बैठक बस्न लागिएको छ।
‘भोलि हुने लिभर ट्रान्सप्लान्ट क्यान्सिल गरेका छैनौं,’ डा काफ्लेले भने, ‘मिर्गौला प्रत्यारोपण सेवा अर्को सातादेखि बन्द गर्ने वा के गर्ने भनेर भोलि बैठक बस्दै छौं। अब बिरामीलाई पनि कोरोनाको जोखिम हुन्छ। त्यसैले सेवाहरु के गर्ने भनेर छलफल गरेका छौं।’
डा काफ्लेले अस्पतालमा इन्डोस्कोपी गर्ने ४ जना बिरामीमा समेत कोरोना पोजिटिभ आएपछि इन्डोस्कोपी नगराइ फर्काइएको जानकारी दिए।