काठमाडौ- केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको छ।
वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भैरहेको बताइएको छ। विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन्। शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका छन्।