काठमाडौं–कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ को मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुलाई माघ महिनाको पहिलो र दोस्रो हप्तामा खोप दिने तयारी गरेको उनको भनाइ छ।
माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ १४ गतेदेखि ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।
पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ। यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र काटेको छ।