काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ। बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सिटामोल लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको बताए।
डा अधिकारीका अनुसार सरकारी स्टोर र औषधि बिक्री केन्द्र (फार्मेसी)मा गरी अहिले १ करोड १० लाखभन्दा बढी मात्रामा सिटामोल मौज्दात छ।
तर, बजारमा भने कोरोना भाइरसको संक्रमण बढेदेखि सिटामोलको अभाव चुलिएको छ। अहिले धेरै निजी फार्मेसीहरुले सिटामोल नभएको भन्दै फर्काउने गरेका छन्। डा अधिकारीले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण गरेर राखिएको बताए।
यस्तै, सरकारी फार्मेसीहरुमा १ करोडभन्दा बढी मात्रामा सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ।
'पारासिटामोल लगायत अत्यावश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सम्पूर्ण सरकारी अस्पताल, प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन गरिसकिएको छ,' अधिकारीले भने, 'कुनै सरकारी अस्पतालमा पारासिटामोल कम हुन सक्ने अवस्था आएमा नेशनल औषधि लिमिटेडसँग सीधै सम्झौता गरेर खरिद गर्न सकिन्छ।'