काठमाडौं– अब कोभिड १९ विरुद्धको पहिलो डोज खोप लगाउने नागरिकले कोभिसिल्ड/ एस्ट्राजेनिका खोप मात्रै लगाउन पाउने भएका छन्।
कोभिड १९ विरुद्धको बुस्टर डोज दिन थालेपछि चिनियाँ खोप भेरोसेलको मौज्दात कम हुँदै गएकाले पहिलो डोज लगाउनेलाई अब कोभिसिल्ड/एस्ट्राजेनिका खोप मात्रै दिइने छ।
स्वास्थ्य सेवा विभागको बुधबारको निर्णयानुसार कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउन भनेर निर्देशन जारी गरिएको छ।
विभागको परिवार कल्याण महाशाखाले एक परिपत्रमार्फत् ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन जारी गरेको हो।
'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०९/२८ को मन्त्रिस्तरिय निर्णयानुसार कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंतिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई मात्र) दिने निर्णय भए बमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८/१०/५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनु हुन निर्णयानुसार अनुरोध छ,' महाशाखाको परिपत्रमा भनिएको छ।
सरकारले अब केही दिन विद्यालयलाई खोप केन्द्रमा परिणत गरेर समूदायस्तरमा खोप अभियान चलाउने समेत तयारी गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको 'सरोकारवालाहरुको बैठक'ले खोप लगाउने प्रयोजनका लागि माघ १६ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ।
कोरोना संक्रमण बढेको भन्दै सरकारले यसअघि माघ १५ गतेसम्मलाई भौतिक उपस्थितिमा पठन–पाठन गर्न नपाइने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।