काठमाडौं– कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधको नयाँ आदेश जारी गरिएको छ।
उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले गरेको निर्णयानुसार थप कडाइका प्रावधानसहित नयाँ आदेश जारी गरिएको हो।
शुक्रबार राति १२ बजेपछि (शनिबार)देखि लागू हुने नयाँ आदेशमा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक तथा निजी (दुई पाङ्ग्रेसहित) सवारी साधनमा समेत जोरबिजोर प्रणाली लागू हुने छ। जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर भएका सवारीका साधन मात्रै चल्न पाउनेछन्।
नयाँ आदेशमा व्यापार व्यवसाय सञ्चालनको हकमा पनि केही कडाइ गरिएको छ। अब सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जनाभन्दा बढी जम्मा हुन पाइने छैन।
यस्तै, पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक-चौथाईमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगायका व्यक्ति मात्रै उपस्थित हुन पाउने पनि नयाँ आदेशमा उल्लेख छ।
होटल तथा रेस्टुरेन्ट र गेस्ट हाउसले आफ्नो होटल/गेस्ट हाउसमा बास बस्ने प्रत्येक ग्राहकको चेक–इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र सोको जानकारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउनुपर्ने पनि आदेशमा उल्लेख छ।