पेसाले माइक्रोबायोलोजीस्ट भएपनि विगत ३ वर्षदेखि बच्चाको स्याहारका लागि गृहणीका रुपमा रहेको छु।माइक्रोबाइलोजीकै विधार्थीका नाताले अध्ययनका क्रममा विभिन्न रोग सर्ने विधिका बारेमा अभ्यस्त भइरहँदा र विभिन्न सावधानीका उपाय अपनाउदा समेत दोस्रो पटक कोरोना संक्रमित भएकी छु।
केहिदिन पहिले घरबेटी अंकल संक्रमित हुनुभएकाे थियाे। जिउ दुख्ने, हल्का रुघा लाग्ने, मन्द ज्वरो आउने लक्षण देखियो भन्नेले के पीसीआर गर्नु, अहिले त चेक गर्यो भने पोजेटिभ देखाइदिन्छ भन्दै थिए। तैपनि पीसीआर मेसिनले भएको चिज त डिटेक्ट गर्ने हो, सामान्य रुघाखोकीलाई किन कोभिड देखाउला र? फेरि आफू बच्चासँगै बस्नुपर्ने त्यसैले जटिल लक्षण नदेखिए पनि स्याम्पल दिएँ। नतिजा हल्का लक्षणमै पोजेटिभ देखियाे।
'एक पटक कोरोना भएकालाई त कोरोना हुँदैन, भ्याक्सिन लगाएकालाई कोरोना नहुनुपर्ने हो' भन्ने बोली पनि कम त सुनेको होइन। तर आज दोस्रो पटक कोरोना संक्रमित भएको छु। संक्रमण पश्चात परिवार साथीहरुसँग सेयर गर्दा सबैको जवाफ उस्तै जस्तो हुन्छ तिमीलाई फेरि कोरोना भयो है, अब बावुलाई के गर्ने त, कसरी राख्ने त। जुन प्रश्नको उत्तर आफैसँग थिएन ।
श्रीमानलाई कुनै लक्षण नदेखिएकाले उहाँसँगै अर्को कोठामा राख्ने निर्णय गर्यौ। अध्ययन र रोजगारीका लागि घरबाट टाढा रहेका हामीसँग यो भन्दा अर्को बिकल्प थिएन। पहिलो दिन छोरा बिना आफुलाई निन्द्रानै लागेन। अर्को कोठामा छोरा झिँझिएर बाबालाई तारन्तार प्रश्न गरेको स्पष्ट सुन्न सक्थेँ। बाबा के हो कोरोना भनेको, मामुलाई कहिले ठीक हुन्छ,मास्क किन लगाउनु पर्छ, मामुलाई कसरी सर्यो, हजुरको अफिस भएको बेला मलाइ कस्ले हेर्छ त अब। अघिल्लो वर्ष संक्रमित भइने डरले गाँउकै घरमा राखेको थिए। यी सबै प्रश्न सोध्ने उसको उमेर पनि भएको थिएन, तर यसपाली भने आज पाँचौ दिन पनि उसकाे प्रश्न निरन्तर जारी छ।
अचम्मको हुँदोरहेछ यो भाइरस पनि न काम गर्न जाँगर हुने, न घरमा अरुले आफ्नो काम गरेको चित्त बुझ्ने। श्रीमान छोराले के गरेका होलान् भनेर ढुक्कनै नहुने। रातमा शरीर तातो भए जस्तो, कामेको जस्तो हुने, छटपटीले निन्द्रानै नलाग्ने, न एक्लै बस्न सकिने न कसैलाई सँगै बसिदेउ भन्न मिल्ने। एक्लै बस्दा परिवारकाे याद आउँने। धन्न यो लहर सम्म थर्माेमिटर र अक्सिमिटरका भाषा बुझ्ने भैसकेको थिए। त्यसैले शरीर तातो भयो, सास फेर्न गार्हाे भयो, छटपटी भयो भने गुगल र अन्य समाचार हेरेर थप डर बढाउन मन छैन यसपाली।
दोस्रो दिन बेलुकासम्म त जसोतसो चल्दै थियो, अकस्मात श्रीमानलाई समेत १०१ डिग्री काम ज्वरो आयो, बावुलाई बरु तिमीसँगै राख भन्नुभयो। श्रीमान आँफै चिकित्सक भएका कारण आँफुलाई पनि कोभीड संक्रमण भएको होला भन्दै अब छोरा पनि संक्रमित हुने भयो भन्ने चिन्ताले धेरै सताउन थाल्यो।
हुन त खै किन यो मेरो दोस्रो कोरोना अनुभवमा पहिले भन्दा डर कम त छ तर मनमा अनेक कुराहरु खेल्ने गर्दछन्। छोरा संक्रमित भए के गर्ने भन्ने डर उस्तै छ। तर पनि यसपटक चाँहि सुरक्षित रहे छोरालाई सावधानीका उपाय सिकाउन सके जाेखिम कम गर्न सकिन्छ भन्ने विश्वास बढेको छ। ठुलै अपराध गरे सरह पहिलेजस्तो घरबेटीले थाहा पाए के होला अरुलाई थाहा भए के होला? संक्रमित भएर ठूलै गल्ती गरेँ अब सबै बन्दहुने भयो,सिल हुने भयो भन्ने चिन्ता छैन। अनावश्यक समाचार सुनिदैन, चिकित्सक भन्दा अरुका सल्लाहमा विश्वास गरेर गाँउबाट अर्गानिक बेसारको धुलो र गुर्जोको लहरा मगाइएको छैन।
तर पनि आफ्नो हालचाल सोध्नुपूर्व छोराको हाल सोध्दा बावुलाई गाह्रो होला सुरक्षित राख्नु भन्दा मनमा बेग्लै चिसो पसे जस्तो हुन्छ। त्यसपछि प्रविधि र भ्याक्सिन माथिनै प्रश्न गर्न मन लाग्छ। अनुत्तरित यो प्रश्न भन्दा पनि संक्रमणकाे अवस्था र आउँदै गरेका विहेभोजको निमन्त्रणा तथा मास्क विनाका अनुहार देख्दा डरसँगै फेरि पनि प्रश्न उत्पन्न हुन्छ, के कोरोना कमजोर हुँदै गएको हो त? के भ्याक्सिनले केही सहज गरेकै हो त? या अनुभवले एउटा पाठ सिकाएको हो त? तर मेडिकल शिक्षाको विधार्थी भएका नाताले भाइरसका बारेमा (फैलिन सक्ने गती, यसका जटिलताका बारेमा र देशको स्वास्थ्य अवस्थाका बारेमा) बुझेर होला यो वर्ष पनि डर उस्तै नै लाग्दैछ।
मेरो दोस्राे अनुभवले मलाइ सिकाएको एउटा मिठो पाठ विभिन्न समयमा पटक-पटक अनेक भेरिएन्टका नामले भाइरस संक्रमण होला र योसँग अभ्यस्त भएर आत्मसाथ गर्दै अगाडी बढ्नु पर्दछ। भ्याक्सिन लगाएर काम छैन, कोरोना भइहाल्दो रहेछ भन्नेहरुलाई भ्याक्सिनले गर्दा नै होला अघिल्लो वर्ष जस्तो हनहनी ज्वरो आउने,सास फेर्न गाह्रो हुने लक्षण देखिएन र अन्य लक्षण पनि केहि दिनमै निको भयो भनेर बुझाउँदै छु।
आफ्ना नानी बावुलाइ मास्क,स्यानीटाइजर,हात धुने विधिका बारेमा राम्ररी ज्ञान दिउँ,स्कुल बन्द भयो भन्दैमा मेला,महोत्सव,चलचित्र हेर्नजाने,इष्टमित्रकोमा घुमघाम गर्न जाने जस्ता असुरक्षित शेैलीले पक्कै पनी एउटा जटिल परिस्थितिको सिर्जना गर्दछ। त्यसैले सचेत र संयमित रहि सुरक्षित रहौ, आफूसँगै सम्पूर्णलाई सुरक्षित राखौ।
-(शर्मा मेडिकल माइक्रोबायोलोजीस्ट हुन्।)