काठमाडौं- काठमाडौं उपत्यकामा पाँच हजार ३०६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
शनिबार देशभर १० हजार २५४ जना कोरोना संक्रमित थपिएकोमा आधाभन्दा बढी उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार ७६२ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुर जिल्लामा ४३४ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्। हाल देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन्।