काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।
गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।
उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले गृहमन्त्री खाणले बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए।
‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमानाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र शितलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शितलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न दिर्नेशन दिनुभयो।’
गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिन्छ उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएमा स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए।
‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्थाबारे जानकारी लिनुभयो। उहाँले संक्रमितलाई सहज रूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टीजेन्ट परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने।
झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए।