काठमाडौं– औषधि व्यवस्था विभागमा अहिले महानिर्देशकको विवाद चलिरहेको छ। विभागमा अहिले २ जना महानिर्देशकले हाजिर गरिरहेका छन्। एक जना महानिर्देशकको दरबन्दी भए पनि गत पुस २५ गते यता भने विभागमा २ जना महानिर्देशक भएका छन्।
स्वास्थ्य मन्त्रालयले गत पुस २५ गते महानिर्देशक नारायण ढकाललाई सरुवा गर्ने र सो पदमा भरत भट्टराईलाई नियुक्त गर्ने निर्णय गर्यो। सरुवा पत्र पाएसँगै भट्टराईले माघ २ गतेदेखि विभागमा महानिर्देशकको रुपमा हाजिर गरिरहेका छन्।
तर मन्त्रालयले सरुवा गरेर विभागकै मातहतको राष्ट्रिय औषधि प्रयोगशालामा पठाएपछि ढकाल भने उक्त निर्णय प्रति असन्तुष्ट छन्। उनले आफ्नो सरुवा नियमविपरित भएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन्।
सरकारले नियम र प्रक्रियाविपरित ४ महिनामै आफ्नो सरुवा गरेको र आफूलाई सरुवा गर्नुको आधार र कारण नदेखिएको भन्दै ढकालले महानिर्देशकको कार्यकक्ष छाडेका छैनन्।
‘पहिलो कुरा मेरो सरुवा नियमअनुसार भएको छैन,’ ढकालले स्वास्थ्यखबरसँग भने, ‘अर्को कुरा मभन्दा कनिष्ठलाई महानिर्देशक बनाइएको छ भने मलाई भने विभाग अन्तर्गतकै निकायमा पठाइएको छ। यो त गलत भयो नि।’
ढकालले केही समयअघि वरिष्ठ र कनिष्ठको विषयमा सर्वोच्च अदालतले समेत प्रष्ट पार्दै अन्तरिम आदेश दिएका कारण उक्त आदेश पनि हेर्नुपर्नेमा जोड दिए।
ढकालले सरुवामा असहमति जनाउँदै कार्यकक्ष नछाडेपछि भट्टराई भने हाजिर गर्ने र फर्किने गर्दै आएको बताउँछन्।
सरुवाका विषयमा स्वास्थ्यखबरले नारायण ढकाल र भरत भट्टराई दुवैजनासँग कुराकानी गरेको छ। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमाः
नारायण ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेरो सरुवा गरेको हो। तर यहाँबाट जान पनि प्रक्रिया छ, नियम छ। त्यो सबै पुरा भएपछि जान्छु। मेरो सरुवाको पत्र अफिसमा आइसक्यो। तर मलाई तोकिएको ठाउँमा त म जान्न। त्यो सरुवामा मेरो असहमति छ। किनकी यो कानुन विपरित छ। सामान्य निजामति कर्मचारीको व्यवस्थापनको नियम विपरित छ मेरो सरुवा।
मुख्य दुईवटा कुरा छ। एउटा मन्त्रालयले कनिष्ठ कर्मचारीलाई विभागको महानिर्देशक बनाइदिएको छ। अनि विभागको मातहतको कार्यलयमा मलाई खटाइएको छ। म उहाँभन्दा वरिष्ठ हो। तर यति हुँदाहुँदै मलाई विभागभित्रको तल्लो कार्यालयमा र म भन्दा कनिष्ठलाई भने मथिल्लो पद दिनु भनेको निजामती कानुन विपरित नै हो।
दोस्रो कुरा, खासगरेर समय अवधि पनि मिलेको छैन। म विभागमा आएको भर्खरै ४ महिना भएको छ। मुख्य कुरा कुनै पनि कर्मचारीलाई सरुवा गर्नलाई आधार र कारण चाहिन्छ। यो दुवै कुरा खुलाइएको छैन। सरुवा गर्नुको आधार र कारण नखुलाई कनिष्ठलाई ल्याउने अनि मातहतको कार्यालयमा चाँही वरिष्ठलाई पठाउने? यो त मिलेन। मेरो सरुवा चार महिनामा नै किन भयो? त्यो त खुल्नु पर्यो नि। तर सरुवा गरियो। सरुवा गर्दा पनि प्रक्रिया हुन्छ।
अहिलेको सरुवाको विषयमा मन्त्रालयले मिलाउँछ भन्ने मैले विश्वास लिएको छ। उचित व्यवस्थापन हुन्छ भन्ने मैले आसा गरेको छु। त्यसैले म यहाँ नै बसिरहेको छु।
मेरो सरुवा गर्नु गलत थियो भन्ने कुरा मन्त्रि र सचिवलाई जानकारी भइसक्यो अब मेरो सरुवा स्वतः रद्ध हुन्छ भन्ने मलाई लाग्छ।
सरकारी कर्मचारी भएपछि सरकारले खटाएको ठाउँमा नजाने भन्ने हुँदैन। उहाँहरुले खटाएको ठाउँमा जानुपर्छ। मन्त्रालयको निर्णय मान्नुपर्छ। तर खटाउँदा कानुन अनुसार भएको छ वा छैन हेरिदिनुपर्छ। एउटा व्यक्तिको मानमर्दन, सम्मान हुन्छ कि हुँदैन? सरुवा गर्दा औचित्यतता थियो वा थिएन? खटाएको ठाउँमा पटक पटक किन यस्तो गरिन्छ विश्लेषण गरिनुपर्छ। केही नसोधिकन, कानुन नै मिचेर सरुवा हुन्छ भने त कर्मचारीमा किन नियम कानुन चाहियो?
मन्त्रीज्यूलाई यो कुरा भनिएको छैन होला। उहाँले त्यो बुझ्ने वित्तिकै सरुवा रद्ध गर्नुहुन्छ भन्ने मलाई लाग्छ।
मेरो सरुवा रद्ध हुन्छ भन्नेमा म आसावादी छु। कानुनी लडाइमा जाने विषयमा मैले सोचेको छैन। यस्तो अवस्था नआओस् भन्ने छ।
मैले यो कुरा मन्त्रीज्यू, सचिव ज्युलाई भनेको छु। मेरो विषयमा पुरानो कुरा पनि होइन। अदालतको अन्तरिम आदेश पनि छ। अदालतको आदेश लिएर म यहाँ हाजिर भएको छु। त्यसको अन्तिम फैसला आउन बाँकी नै छ। यस्तो हुँदा हुँदै पनि मेरो सरुवा गरियो। तर त्यो सच्चिन्छ भन्नेमा म ढुक्क छु।
भरत भट्टराई
सरुवा पत्र पाएसँगै म त माघ २ गतेदेखि विभागमा पुगेर हाजिर गर्न थालिसकेको छु। तर उहाँ (नारायण ढकाल)ले प्रोफेसनल इथिक्सको हिसाबले ठाउँ छोड्नुपर्थ्यो।
४ महिनाअघि मेरो सरुवा हुँदा त मैले चिठ्ठी पनि कुरिन। मैले त भोलिपल्टै देखि बिदा लिएर बसेँ। मेरो सरुवा राष्ट्रिय औषधि प्रयोगशालामा भएको थियो। पत्र पाएपछि म प्रयोगशालामा गएर नै हाजिर गरेँ।
तर अहिले मैले जिम्मेवारी पाएपनि उहाँले कुर्सी छोड्न मान्नुभएन। अटेर गर्नुभयो। त्यो नियमसंगत छैन। विभागिय प्रमुख भनेको त तुरुन्तै छोड्नुपर्ने हो। म २ गते हाजिर भएको छु। म हाजिर भएपछि त उहाँको निर्णयहरु पनि वैध नहोला। त्यो हिसाबले के भन्ने कर्मचारीको संस्कार, नैतिकता, आचरणको कुरा हो।
नियम अनुसार त उहाँले रमना लिएर छाड्नुपर्ने हो। अहिले त म हाजिर गरेर निस्किन्छु, कहिले मन्त्रालय जान्छु कहिले कतै अलमलिन्छु।
विभागमा महानिर्देशकको कार्यकक्ष एउटा मात्र हो। उहाँले नछोडेपछि मेरो बस्ने ठाउँ भएन।
मलाई जुनियरलाई दिएको भन्ने भए त म यसअघि नै किन महानिर्देशक भएँ त? त्यो कुरा उहाँले पहिला नै गर्नुपर्छ नि। मलाई अहिले जुनियर र सिनियरको कुरा गर्न नै मिल्दैन। उहाँले कुरा राख्ने माथिल्लो निकाय छ।
मैले जिम्मेवारी पाएपनि कार्यकक्ष पाइँन। यो विषयमा मन्त्रालयमा अपडेट गराइसकेको छु।