हतारो, लटारो,
लत्तारो, पछारो हुँदै आफू
ज्यान बचाउनलाई हाम्रो
घाँटीमा आला बोकी
हस्याङ्ग–फस्याङ्ग कुद्दै गरेका
डाक्टलाई सलाम छ।
पछि पर्या छैनन् उनी
तिम्रा बिरामी उचाल्न, बोक्न,
राख्न र सान्त्वना दिन बिरामीलाई
परिवार अनि आफन्तलाई
बचाउन जीवन कसैको हतार–हतार
अक्सिजन जोड्दै गरेका
डाक्टरलाई सलाम छ।
सिकिस्त भए रे बिरामी
भन्ने सुनी दगुरादगुर गर्दैछन् उनी
परवाह छैन, उनलाई आफ्नो
न हातमा पन्जा छ
न मास्क र पीपीई छ
तै पनि ज्यानको माया मारेर अरुको
ज्यान बचाउन तल्लिन
डाक्टरलाई सलाम छ।
परिवार छन् उनका पनि
रोएका छैनन् सम्झेर उनी
सम्हालिंदै आफू, सम्हाल्दै र सम्झाउदै छन्
बिरामीलाई अनि आफन्तलाई
कस्तो सहनशीलता उनमा
कस्तो मानवता उनको
बिर्सेर घर परिवार नातागोता
सेवामा खटिईरहने
डाक्टरलाई सलाम छ।
गुमाउँदै छन् जीवन दिनहुँ
सयौं हजारौंले तर पनि
निडर देखिन्छन उनी
साहस छ उनमा
आत्मबिश्वास छ उस्तै गरी
निस्फिक्री ज्यान बचाउँदै गरेका
डाक्टरलाई सलाम छ।
सोधेका छौं उनलाई
भोक लाग्या छ भनेर ?
न भोक, प्यास छ,
न निद्राको परवाह छ
यसरी जीवन बचाउन सबैको
अस्पतालमा खटिईरहेका
डाक्टरलाई सलाम छ।
चौबिसै घन्टा पीपीईमा गुम्सिएर
निसासिएर, पिल्सिएर
जोड्दै छन् अक्सिजन
दिँदैछन् ओखती–मुलो
घन्टा–घन्टामा प्रेसर,
ज्वरो नाप्दै गरेका
नर्सहरुलाई सलाम छ।
भेट्न पाएका छैनन्
परिवार, आफन्त, इष्टमित्र
गुम्सिएका छन् एउटै कोठाभित्र
हेरत पीपीई भित्र बलिन्द्र पसिना–धारा
यस्तो पिडा लुकाइ कर्ममा जुटिरहेका
डाक्टरलाई सलाम छ।
सहेर बसेका छन् उनि
ढुंगाले हान्दा, लछार्दा, पछार्दा पनि
मतलव छैन उनलाई आफू मरेपनि
न त छ आफन्तको चिन्ता
हरबखत बिरामी रोगीकै छ टण्टा
तरपनि बचाई रहेछन् तिम्रा बिरामी
यस्तो महान कार्य गर्ने
डाक्टरलाई सलाम छ।
सहदैछन् गाली
सहदैछन् पिटाई पनि
तिमि भए कति रिसाउथ्यौ
पिट्थ्यौ होला अरुलाई पनि उसै गरि
हेरत खै रिसाए उनी
हाँसिरहेका छन् तर पनि
परोपकारमा तल्लिन
यस्ता सहनशील
डाक्टरलाई सलाम छ।
भन्दैथे धेरै दिन भो खाना नखाएको
बुढी भाकी आमाको मुख हेर्न नपाएको
तैपनि रत्तिभर नलिई गुनासो मनमा
हेरत कसरी चित्त बुझाएको
न रोएका छन्
न आत्तिएका नै छन्
धमाधम काममा घोटिएका छन्
यसरी अविचलित रुपमा
सेवामा खटिने
डाक्टरलाई सलाम छ।
तलब, भत्ता समयमा पाउँदैनन्
जोखीम भत्ता भन्दै सरकार,
मन्त्री र सचिवले गोजी तातो बनाउँछन् ।
फिल्डमा कोरोनासंग
लाप्पा खेल्ने यिनले
एकथोपा पाउँदैनन्
तरपनि रत्तिभर आशा नराखी
खुरुखुरु मरेका लास उठाउने
स्वास्थ्यकर्मीलाई सलाम छ ।
सलाम छ ति पीपीईमा
गुम्सिएका नर्सहरुलाई
सलाम छ ति निस्वार्थी डाक्टरहरुलाई
सलाम छ दिनरात आफूलाई भुलेर
अरुको भलाईका लागि
कर्मशील नर्सहरुलाई।
सलाम छ डाक्टरहरुलाई।
(यो महामारीविरुद्ध लड्ने वीर योद्धा (डक्टर, नर्स लगायत स्वास्थ क्षेत्र) मा खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी प्रति हार्दिक नमन, सलाम धन्यवाद र कोभिडविरुद्ध लड्ने उर्जा झन् बड्दै जाओस्।)