काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टललाई ऐच्छिक गर्ने निर्णय गरेको छ। केयूले होस्टललाई ऐच्छिक गर्ने नियम संशोधन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा समेत जानकारी गराएको छ।
केयूको शुल्क फिर्ता र होस्टलको विषयमा भएको निर्णयपछि आन्दोलनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलन गर्दै आएका थिए।
काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःशर्त कक्षामा सामेल गराउन तयार भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन्।
विद्यार्थी संगठनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन्। संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका देवेन्द्र कुँवरलगायतको हस्ताक्षर छ।
केयूले मेडिकल कलेजलाई अनिवार्य रुपमा विद्यार्थीहरुलाई पठन-पाठनमा संलग्न गराउन पनि निर्देशन दिएको छ ।