काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिडविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुईजना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
अख्तियारले महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्णा कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार स्वास्थ्य चौकीमा कार्यरत अजय कुमार सहको निर्देशनमा कृष्णाले २० हजार घुस लिएको पुष्टि भएको छ। साहको निर्देशनमा यादवले कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सेवाग्राहीबाट २० हजार घुस लिएको अख्तियारको छानबिनमा फेला परेको हो।
हेरौं अख्तियारको विज्ञप्ति
जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको र निजले भनेबमोजिम नै कृष्णा कुमार यादवले सेवाग्राहीबाट रु.२०,०००।– घुस रिसवत लिएको पुष्टि हुन आएकोले निज हेल्थ असिस्टेन्ट अजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज अजय कुमार साहलाई बिगो रू.२०,०००।-(बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै कृष्णा कुमार यादवले घुस/रिसवतबापत रु.२०,०००।–(बीस हजार) अजय कुमार साहको निमित्त लिएको तथ्य समेतको आधारमा निज कृष्णा कुमार यादवको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिन आएको हुँदा निज कृष्णा कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले निजलाई बिगो रू.२०,०००।–(बीस हजार) कायम गरी ऐ.ऐ. दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी