काठमाडौं- सरकारले रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविनका लागि ५ सदस्यीय समिति बनाएको हो।
यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन्।
मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो। समितिमा प्रमुख जनस्वास्थ्य प्रसाशक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिव छन्।
कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खाेप अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो।