काठमाडौं- ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं ’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदै छ।
नेपालमा पनि क्यान्सरको क्षेत्रमा सक्रिय अस्पताल तथा संघसंस्थाहरुले विभिन्न सचेतनात्मक कार्यक्रम गरी यो दिवस मनाउदै छन्।
युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी)ले हरेक वर्ष विश्व क्यान्सर डे भनेर ४ फ्रेबुअरीलाई मान्ने गरेको छ।
उनीहरुको मुख्य उद्देश्य भनेको क्यान्सरको विषयमा सचेतना जगाउने, रोकथाम तथा निदानमा फोकस गर्नु नै हो।
दिवसको सन्दर्भमा स्वास्थ्यखबरले वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पियासँग कुराकानी गरेको छ। उनले पछिल्ला वर्षहरुमा क्यान्सरको विषयमा सचेतना बढ्दै गएको बताए।
‘पहिला पहिला क्यान्सर रोग लागेपनि पहिचान र उपचारको सुविधा निकै कम थियो,’ उनले भने, ‘जसका कारण धेरैको रोग पहिचन नै नभइ मृत्यु हुने अवस्था थियो। तर अहिले क्यान्सर पहिचान र उपचारमा पहुँच बढ्दै गएको छ।’
सरकारले दिने सहुलियतका कारण पनि क्यान्सरको उपचारमा जनताको पहुँच बढ्न थालेको डा पियाले सुनाए।
‘पहुँचको हिसाबले भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले पहुँच धेरै नै बढेको छ। खास गरेर सरकारले क्यान्सरको लागि औषधि उपचारमा जुन सुविधा दिएको छ, त्यसले गर्दा पनि हुम्ला, जुम्ला लगायत विकट क्षेत्रबाट पनि उपचारका लागि आउने गरेको पाइन्छ,’ उनले भने।
क्यान्सर कस्तो खालको रोग हो? नेपालमा क्यान्सरका बिरामी कति छन्? क्यान्सरका मुख्य लक्षणहरु केके हुन्? कति बिरामी उपचारको पहुँचमा छन्? नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्? क्यान्सर लाग्नै नदिन के गर्ने? लगायतका विषयमा डा पियासँग कुराकानी गरेका छौं।
प्रस्तुत छ डा पियासँगको गरिएको कुराकानीको अंश:
क्यान्सर रोग कस्तो खालको रोग हो?
क्यान्सर भन्ने वित्तिकै हाम्रो जमानामा त मानिसहरु आत्तिहाल्ने, गएगुज्रिएको रोगका रुपमा लिइन्थ्यो। नेपालमा क्यान्सर पहिचान गर्न नै गाह्रो थियो। तर अहिले सुरुवाती अवस्थामै पहिचान गर्न सके क्यान्सर निको हुन्छ। उपचार र पहिचान समयमा नै भए निको हुने अवस्था पनि छ। त्यसकारण हिले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन।
सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिन्छ। यस्तै अन्य क्यान्सर पनि सुरुको स्टेजमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहन्छ। यस्तै अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना रहन्छ।
क्यान्सरको कुरामा नेपालको अवस्था भन्नुपर्दा दुई किसिमको छ। एउटा हामी डाक्टरहरुले अनुभवको आधारमा अनुमान गरेको र अर्को विश्व स्वास्थ्य संगठनले अनुमान गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य संगठनले नेपालमा ३२ हजार क्यान्सरका बिरामी छ भन्छ। हाम्रो हिसाबले भन्नुपर्दा ५०/६० हजार क्यान्सरका बिरामी नेपालमा छन्। तथ्यांक सबै ठाउँबाट रेकर्ड भएको हुँदैन। प्राय ठूलो ठूलो अस्पतालहरुमा भएको तथ्यांक नै प्रमुख तथ्यांक बनेको छ। गाउँतिर कति बिरामी रोग नै पहिचान नभएर बसेका हुनसक्छन्।
नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्?
सबैभन्दा पहिला त फोक्सोको क्यान्सर भएका बिरामी नै बढी छन्। पुरुषहरुमा बढी हुने क्यान्सरमा फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर देखिन्छ। महिलाहरुमा पहिला पाठेघरको क्यान्सर बढी हुन्थ्यो, अहिले स्तन क्यान्सर बढी छ।
यस्तै, महिलाहरुमा हुने प्रमुख क्यान्सरमा फोक्सोको पनि हो। डिम्बाशयको क्यान्सर पनि महिलाहरुमा बढी छ।
स्तन क्यान्सर बढी देखिनुमा अहिले पाठेघरको क्यान्सरको पहिचानका लागि सुरुमा नै प्यापस्मेयर परीक्षण हुने भएकाले पनि हो। यो परीक्षणमा क्यान्सर हुने सुरुको अवस्थामा नै पहिचान हुने भएकाले यो क्यान्सर हुनेको संख्या तल झरेको हो। अहिले यो क्यान्सर एक नम्बरबाट २ नम्बरमा झरेको छ।
विश्वभरको तथ्यांकलाई हेर्ने हो भने फोक्सोको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा छ।
नेपालमा सबै क्यान्सरका बिरामीहरु उपचारको पहुँचमा छन्?
कतिपय त ढिलो अवस्थामा थाहा हुन्छ। शहरमा समेत पेटमा समस्या आउँदा ग्याष्ट्रिक त हो भनेर आफैंले औषधि किनेर खाने चलन अझै छ। पहुँचको हिसाबले भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले पहुँच बढेको छ। खास गरेर सरकारले क्यान्सरको लागि औषधि उपचारमा जुन सुविधा दिएको छ, त्यसले गर्दा पनि हुम्ला, जुम्ला लगायत विकट क्षेत्रबाट पनि उपचारका लागि आउने गरेको पाइन्छ। पहुँच विस्तारै बढ्दै गएको देखिन्छ।
क्यान्सरको मुख्य लक्षण के– के हुन्?
क्यान्सरको यही लक्षण छ भन्न सकिँदैन। तर विश्व स्वास्थ्य संगठनले मुख्य ७ वटा लक्षण निकालेको छ। यदी त्यो लक्षण छ भने आफूलाई क्यान्सर भएको आशंका गरी डाक्टरकोमा जान भनेको छ।
निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ।
क्यान्सरको उपचारमा कतिसम्म खर्च लाग्नसक्छ? सरकारले दिने सहुलियत पर्याप्त छ?
क्यान्सरको उपचारको विषयमा औषधिहरु कतिपय धान्न सक्ने पनि छ, कतिपय महंगो पनि छ। खर्चको कुरा कुन ठाउँमा उपचार गरिन्छ भन्नेमा पनि भर पर्छ। कुनैकुनै औषधि सरकारले दिने एक लाख सहायताले पनि पुग्नसक्छ, कुनैकुनै अपुग छ।
अहिले केन्द्र सरकार बाहेक प्रदेश र स्थानीय सरकारले पनि सहुलियत दिन थालेको छ। जस्तो बागमती प्रदेशले आफ्ना नागरिकलाई सरकारले दिने एक लाखमा थप ५० हजार दिने गरेको छ, यस्तै स्थानीय तह नगरपालिका तथा वडाले पनि आफ्नो तरिकाले दिने गरेको छ।
डेढ लाखसम्मको आर्थिक सहायताले पाठेघरको क्यान्सर, स्नत क्यान्सरको रिजनेवल किमो थेरापी, ओभरी, फोक्सोको क्यान्सरको पनि उपचार गर्न सकिन्छ। नेपालमा एक डोज औषधिको अर्थात क्यान्सरको एक साइकल उपचारमा ५ लाखसम्म महंगो उपचार छ।
पहिला–पहिला बिरामी उपचार नगराइ घर फर्किन्थे भनिन्थ्यो, अहिले कस्तो छ अवस्था?
पहिला–पहिला सुविधा नहुँदा बिरामीहरु लास्ट स्टेजमा उपचारका लागि आइपुग्थे। अप्रेसन र औषधि गर्दा पनि निको हुने सम्भावना कम हुने भएकाले निको नहुने भएपछि किन उपचार गर्ने भन्ने सोच बिरामीका आफन्तमा थियो।
अहिले सरकारले आर्थिक सहायता दिने भएकाले पनि सरकारले दिएको सुविधा छ भने कोसिस गरौं न भन्ने सोच मानिसमा छ। त्यसैले उपचारको प्रयास गर्नेहरु छन्।
पहिला पहिला रेडियो नेपाल, नेपाल टेलिभिजन मात्र थियो, सचेतना कम थियो। अहिले सञ्चारमाध्यमहरु धेरे छन्। सामाजिक सञ्जालहरु पनि छन्। जसले गर्दा पनि क्यान्सरको विषयमा सचेतना बढेको छ। मानिसहरु हेल्थप्रति कन्सियस भएका छन्। हाम्रो अस्पतालको कुरा गर्दा सुरुमा स्तनको क्यान्सर उपचार गर्दा ३ वा ४ स्टेजमा मात्र उपचारका लागि आउथें। ७÷८ वर्षपछि अध्ययन गर्दा अहिले स्टेज २ वा ३ कुनैकुनै १ मा पनि आइरहेका छन्।
स्टेज ३ सम्म अप्रेसन, औषधि वा रेडियसन गरेर निको पार्न सकिन्छ। हाम्रो पालामा स्तन क्यान्सर जाँच गर्न पनि सहज थिएन। स्तन क्यान्सर जाँच गर्न महिलाहरु स्तन देखाउनै मान्दैन थिए। अहिले युवतिहरु पनि सहज रुपमा स्तन जाँच गर्न आउछन्। आफ्नो समस्याहरु खुलेर सुनाउँछन्। जसले गर्दा पनि स्तन क्यान्सर पहिचानमा सहज भएको छ।
क्यान्सर लाग्नै नदिन वा उपचार गरेर निको भइसकेपछि पनि कस्ता कुरामा ध्यान दिने?
मुख्य कुरा खानपानमा ध्यान दिनुपर्छ। चुरोट खानु भएन। रक्सी धेरै खान हुँदैन। खानामा धेरै चिल्लो, बोसो खानु भएन। आगोमा पोलेको मासु धेरै खानु हुँदैन। जंक फुडहरु खान हुँदैन।
भिडियो: