काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सिफारिस समितिले तीन जनाको नाम टुंगो लगाएको एक साता भइसकेको छ। तर नाम टुंगो लगाए पनि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भने सिफारिस हुन सकेको छैन।
प्रतिष्ठानको उपकुलपतिका लागि सिफारिसमा परेका तीन जनामध्ये एक जनाको नाममा प्रधानमन्त्री पत्नी आरजु देउवासहितको टिमले आपत्ति जनाएपछि सिफारिस हुन नसकेको हो।
'बालुवाटारबाट नै सिफारिसमा परेका डा रामेश कोइरालाको नाम हटाउन दबाब आएको छ,' सिफारिस समितिका संयोजक समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा निकट स्रोतले भन्यो, 'बालुवाटरबाट नै दबाब आएपछि समितिले नाम बुझाउन नसकेको हो।'
समितिले प्रतिष्ठानको उपकुलपतिका लागि डा रामेश कोइरालासहित डा नारायण विक्रम थापा र डा ऋषिकेश नारायण श्रेष्ठको नाम सिफारिस गर्ने गरी टुंगो लगाएको थियो। सिफारिस समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला सदस्य छन्।
समितिले यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
स्रोतका अनुसार बालुवाटारले डा रामेशको स्थानमा डा विकास लामिछानेलाई सिफारिस गर्न दबाब दिएको हो। डा लामिछाने स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका हुन्।
डा रामेशले सामाजिक सञ्जालमा सरकारका विरोधमा बोलिरहेको भन्दै उनको नाम हटाउन दबाब दिइएको स्रोत बताउँछ।
सिफारिस समितिले दिएका नाममध्ये प्रतिष्ठानका कुलपतिले एक जनालाई उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए। उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १६ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका थिए।
यी हुन् आवेदन दिनेहरु
प्राडा संगीता भण्डारी
डा विकास लामिछाने
डा पवनजंग रायमाझी
डा प्रदीप घिमिरे शर्मा
डा भुमेश्वर आचार्य
प्राडा राजेन्द्रराज वाग्ले
डा जितनारायण यादव
डा विश्वनाथ यादव
डा रामेश कोइराला
प्राडा रेवतीरमण मल्ल
प्राडा नारायण विक्रम थापा
डा प्रवीण श्रेष्ठ
डा लक्ष्मीनारायण सिंह
डा सन्जयकुमार ठाकुर
डा ऋषिकेशनारायण श्रेष्ठ
डा प्रवोध रेग्मी