'ओमिक्रोन रुपमा स्क्रब टाइफस' भन्नाले लेखकले हाल फैलिरहेको ओमिक्रोनमा देखिने जस्तो लक्षणहरु लिएर स्क्रब टाइफस पनि देखा पर्दै भन्न खोजेको हो। हाल ज्वरो आउँदा, टाउको र शरीर दुखे, घाँटी दुखे, खोकी लागे कोरोनाको शंका गर्ने गरिन्छ र अहिलेको अवस्थामा यो स्वाभाविक पनि देखिन्छ। तर यी लक्षणहरु अरु संक्रामक रोगहरुसँग पनि मिल्दोजुल्दो हुने गर्दछ।
विभिन्न देशहरुमा ओमिक्रोनले देखाएको लक्षणहरुलाई कमन कोल्डसँग तुलना गर्ने गर्दछन्। तर नेपालमा कमन कोल्ड बाहेक अरु विभिन्न संक्रामक रोगहरु पनि रहेका र ती रोगहरु वर्षेनी आफ्नो मौसममा देखिने गर्दछन्। केहि दिन अगाडि एक युवक माथि भनिएका लक्षणहरु लिएर आएका थिए। सो बिरामीमा संक्रमणको शंका ओमिक्रोन गरिएको भएपनि स्क्रब टाइफस पुष्टि भयो।
गएको एक सातामा झन्डै एक दर्जनको हाराहारीमा स्क्रब टाइफस पुष्टि भएको देखिन्छ। अहिले सबैको ध्यान ओमिक्रोनमा केन्द्रीत हुँदा 'स्क्रब टाइफस' लगायत अरु संक्रामक रोगहरु पहिचान तथा उपचारबाट बन्चित हुने सम्भावना देखिन्छ। हुनत, अघिल्लो भेरियन्टको लहरमा पनि स्क्रब टाइफस लक्षणहरुको आधारमा पहिचान गर्न कठिन भएको थियो, भने परीक्षण पनि नियमित हुने गरेको थिएन।
ओमिक्रोन विगतमा देखिएका भेरियन्टहरुले भन्दा फरक विशेषता लिएर आएको छ। अर्थात् तीब्र गतिमा फैलने तर लक्षणहरु भने तुलनात्मक (अघिल्लो भेरियन्टहरु भन्दा) रुपमा कम घातक भनेको हो। विकशित देशहरुमा कमन कोल्ड/फ्लुसँग ओमिक्रोनको तुलना गर्ने गरेको भएता पनि मौसम अनुसारको संक्रामक रोगहरुलाई पनि चटक्कै बिसर्न भने हुँदैन। वास्तवमा, ओमिक्रोन भन्दा पनि कतिपय संक्रामक रोगहरुबाट बिरामी जटिल अवस्थामा जान सक्ने सम्भावना बढी देखिन्छ। स्क्रब टाइफसको मृत्युदर नेपालमा ६ प्रतिशतसम्म देखिएको भएता पनि अनुसन्धानहरुले ३०-३५ प्रतिशत सम्म पनि हुने गरेको देखाएका छन्। हाल नेपालमा फैलिरहेको ओमिक्रोनको मृत्युदर १ दशमलब ३ प्रतिशत देखिन्छ।
अत्यधिक टाउको तथा शरीर दुख्नु र आँखा रातो हुनु ओमिक्रोन तथा स्क्रब टाइफसमा देखिने समान लक्षणहरु हुन्।लेखकले केहि कोरोना पुष्टि भएकाहरुमा आँखा रातो हुने समस्या पनि पाएको थियो। आँखा रातो हुने समस्या ओमिक्रोन फैलिएसँगै छिमेकी देश भारत लगायत अरु विभिन्न देशमा पनि रिपोर्ट गरेको पाइन्छ जुन अघिल्लो भेरियन्टहरु भन्दा फरक हो।
डेल्टा भेरियन्टमा भने उच्च ज्वरो तथा श्वास प्रश्वासमा देखिने असहजता स्क्रब टाइफससंग मिल्ने लक्षणहरु हुन्।हाल ओमिक्रोनले व्यापकता पाइरहेको र डेल्टाको अस्तित्व पनि अझै रही रहेको अवस्थामा स्क्रब टाइफस परीक्षणको दाएरामा नआउँदा पहिचान र उपचारमा ढिलाई तथा जटिलतामा जान सक्ने सम्भावना बढ्ने छ। अझ काठमाडौँ बाहिर गाउँघर तिर स्क्रब टाइफसको समस्या बढी हुने र त्यहाँ परीक्षण दाएरा सिमित हुने हुँदा पहिचान र उपचारमा ढिलाई हुने गरेको लेखकसंग प्रशस्त उदाहरणहरु छन्। हाल अस्पतालमा आउने धेरैले कोरोना बाहेक अरु परीक्षणहरु गर्न अनिच्छ्या व्यक्त गर्ने गरेको पाइन्छ। जसले गर्दा नेपालमा नियन्त्रणमा रहेका कतिपय मौसमी संक्रामक रोगहरुको चाप थाहा नपाइकन बढ्न सक्नेछ।
हाल ओमिक्रोनसँग मिल्दो जुल्दो लक्षण लिएर स्क्रब टाइफस पनि देखिएको छ। तर अस्पताल आइपुगेकाहरु कोरोना बाहेक अरु संक्रमणको परीक्षण गर्न भने अनिच्छ्या व्यक्त गर्ने गरेका पाहिन्छ। ज्वरो आउनु, घाँटी दुख्नु, खोकी लाग्नु भनेको कोरोना मात्र होइन। तसर्थ हाल देखिदै गरेको स्क्रब टाइफसको पनि समयमा नै पहिचान र उपचार गर्न सके रोग पूर्ण रुपमा निको हुनेछ।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)