काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासन तर्फका एक जना सचिव पठाउने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका एक जना र जनसंख्या हेर्ने गरी प्रशासनका एक जना सचिव पठाउने निर्णय भएको हो। मन्त्रालयमा हाल स्वास्थ्य सेवा तर्फ डा रोशन पोखरेल सचिव छन्। प्रशासन तर्फ प्रधानमन्त्री कार्यालयका एक जना सचिव पठाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।
'प्रधानमन्त्री कार्यालयमा रहेका कोही एक जना सचिवलाई स्वास्थ्यमा पठाउने निर्णय भएको छ', ती मन्त्रीले भने, 'प्रधानमन्त्री कार्यालयमा रहेका कोही एक जनालाई स्वास्थ्य मन्त्रालयमा जनसंख्या हेर्ने गरी पठाउने निर्णय भएको हो।'
प्रधानमन्त्री कार्यालयमा रहेका मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्यमा पठाउने निर्णय भएको बताइएको छ। तर बुर्लाकोटीले आफूले अहिलेसम्म यस विषयमा जानकारी नपाएको बताए।
मन्त्रालयमा दुई जना सचिव हुँदा यसअघि पनि विवाद हुँदै आएको छ। स्वास्थ्यमा प्रशासन तर्फको सचिव राख्न नुहने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गर्दै आइरहेका छन्।