विभिन्न्न जातका कोभिड भाइरसले विश्वलाई आक्रान्त बनाएको छ। नेपाल पनि यसबाट अछुतो छैन। ओमिक्रोनसहितको तेस्रो लहरले यसपाली धेरै बच्चाहरुलाई समेत बिरामी बनाएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दैनिक संक्रमण हुने मध्ये करिब १० प्रतिशत २० वर्ष मूनिका बालबालिका छन। हालसम्म नेपालमा कोभिड रोगबाट १०७ जना २० वर्ष मूनिका बच्चाहरुको मृत्यु भएको तथ्यांक छ।
अमेरिकामा कूल कोभिड बिरामीहरुमा १८ प्रतिशत बालबालिका रहेको तथ्यांक छ। हालसम्म अमेरिकामा १ करोड भन्दा बढी बालबालिकालाई यो रोग देखिसकेको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) संस्थाले बताउँछ। सो संख्याको १.५ प्रतिशत बच्चाहरु अस्पताल भर्ना भएका रहेछन।
बच्चाहरुलाई कोभिड कसरी हुन्छ?
कोभिड संक्रमित व्यक्तिहरुले खोक्दा वा हाछ्युँ गर्दा मुखबाट आउने थुकको छिटामा कोभिड भाइरस हुन्छन। वरपरको वायु र बस्तुहरुलाई दुषित बनाउछ। यस्ता दुषित हावा सास लिँदा शरीरमा पस्छन र रोगको सुरुवात हुन्छ। बच्चाहरुलाई धेरै जसो अवस्थामा घरका बयस्कहरुले सार्छन भने विद्यालयबाट पनि यो रोग सर्न सक्छ। बच्चाहरु वरपरको बस्तुहरुमा कोभिडका भाइरसहरु केहि घण्टादेखि केहि दिनसम्म सक्रिय रहन सक्छन् र यस्ता चिजहरुको प्रयोगले यो रोग सर्ने सम्भावना रहन्छ।
बच्चाहरुमा कोभिड रोगका लक्षणहरु के के हुन्?
१. ज्वरो आउनु।
२. सिंगान बग्नु, खोकी लाग्नु सास फेर्न गाह्रो हुनु, छिटो छिटो सास फेर्नु।
३. बान्ता हुनु, पेट दुख्नु, पातलो दिसा हुनु।
४. टाउको दुख्नु, जिउ दुख्नु।
५. थाक्नु।
६. स्वाद र गन्ध थाहा नहुनु ।
७. शरीरमा राता बिमिरा आउनु आदि।
कसैलाई यी लक्षणहरु सामान्य मात्रै देखा पर्छ भने कसैलाई कडा देखिन्छ। निमोनिया भएर शरीरमा अक्सिजनको मात्रा कमि हुनु कडा कोभिड हो। यो रोग निको भइ सकेपछि केहि हप्तापछि शरीरको विभिन्न अङ्गहरुमा असर पर्ने र कडा लक्षणहरु देखा पर्ने अवस्थालाई एमआइएस-सी भनिन्छ। खोप लगाई सकेका नानिहरुलाई कोभिडका लक्षणहरु सामान्य रुघा केहि दिनको लागि हुन्छ।
बच्चाहरुलाई कोभिड लागेको कसरी पत्ता लगाउन सकिन्छ ?
नाक र घाँटीको स्वाबबाट नमुना संकलन गरि आरटी-पीसीआर वा एन्टीजीन विधिबाट यो रोग लागेको पत्ता लगाउन सकिन्छ। एन्टीजीन आरडिटी विधिबाट आधा घन्टामै रिपोर्ट तयार हुन्छ र यो पद्धतिलाई सरकारले पनि मान्यता दिएको छ। रोगको सुरुवाती अवस्थामा यी जाचहरु नेगेटिभ आएपनि लक्षणहरु कोभिडसँग मिल्दाजुल्दा भएमा २-३ दिन पछि फेरि जाँच दोहोर्याउनु पर्दछ।
बच्चाहरुलाई कोभिड हुन बाट कसरी बचाउने त?
१. सर्वप्रथम घरका बयस्क सदस्यहरुले जिम्मेवारीपुर्वक स्वास्थ्यका नियमहरु पालना गर्नु पर्छ। बच्चाहरुलाई उनीहरुले बुझ्नेगरी रोगबाट बच्ने तरिकाहरु सिकाउनु पर्छ।
२. भिडमा नलाने, २ वर्षमाथिका नानिहरुलाई बाहिर जाँदा सहि तरिकाले मास्क लगाई दिने।
३. बाहिर जाने बेला अनावश्यक बस्तुलाई नछुने, नचलाउने। स्यानिटाइजर सधै साथमा राख्ने अनि पटक-पटक प्रयोग गर्ने गराउने।
४. घरमा सफा राख्ने। घरको भुइँ नियमित सफा गर्ने। धेरै छोइने बस्तु जस्तै, ढोकाको ह्यान्डल, चुकुल आदि स्यानिटाइजर ले नियमित सफा गर्ने।
५. पर्याप्त आराम र निद्रा सुनिश्चित गर्ने।
६. पोषिलो खाना र पर्याप्त पानि खान दिने।
घरमा कोभिड लागेका बच्चाहरुलाई कसरी स्याहार गर्ने?
कोभिड लागेका अधिकांस बच्चाहरुमा सामान्य लक्षण मात्रै देखिने हुनाले घरमै उपचार गर्न सकिन्छ। घरमा कुनै बालबालिकालाई कोभिडको जस्तो लक्षण देखिए सर्वप्रथम नजिकको स्वास्थ्य केन्द्रमा गई स्वास्थ्य परीक्षण गराउनु पर्छ। आवश्यक परे कोभिड सम्बन्धी जाँच गरे पश्चात यो रोगको बारेमा एकिन गर्न सकिन्छ। कडा लक्षण नभए र घरमा नै उपचार गर्न सल्लाह भए बच्चाहरुलाई घरमा नै स्याहार गर्न सकिन्छ। घरमा उस्तै लक्षण देखिएका सबैलाई जाँच गराउन आवश्यक हुन्छ।
७. रोग लागेका नानीहरुलाई अलगै राखी एक जनाले मात्र खटेर स्याहार सुसार गर्नु पर्दछ।
८. दूध खाने बच्चाहरुलाई आमाले आफूले सहि तरिकाले मास्क लगाएर स्तनपान र अन्य आवश्यक स्याहार गर्न सकिन्छ। आमाले बिरामीलाई स्याहार गर्नुअघि र गनेपछि राम्ररी मिचीमिची हात धुने वा ह्यान्ड स्यानिटाइजर को प्रयोग गर्नुपर्छ। बच्चालाई खुवाउने वा स्तनपान गर्नु भन्दा अगाडि ह्यान्ड स्यानिटाइजर भन्दा साबुन पानिले हात धुनु नै उत्तम हो।
९. २ वर्ष माथिका बच्चाहरुले अरुको सम्पर्कमा आउने बेला घरमै सहि तरिकाले मास्क लगाउने गर्न सके रोग फैलनबाट जोगाउन सकिन्छ।
१०. घरमा उपचार गरिरहेका बच्चाको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नु जरुरी हुन्छ। दिनमा ४ पटक बिरामीको तापक्रम, सासको गति र होसको अवस्थाबारे नजिकबाट अनुगमन गर्नु पर्छ।
१०० डिग्री भन्दा बढी ज्वरो आएमा वा टाउको दुखाइ, जीउ दुखाइ भएमा पारासिटामोल औषधि डाक्टरको सिफारिस अनुसार दिनमा ४ पटक सम्म दिन सकिन्छ।
११.सास फेर्न कठिनाइ भएमा, घ्यारघ्यार आवाजका साथमा छिटोछिटो सास फेरेमा वा दूध चुस्न गाह्रो भएमा, सास फेर्नको लागि बेलाबेलामा दूधको मुन्टो छोडेर दूध खाने गरेमा नाकमा सिगान जमेर बन्द भएको हो कि भनेर टर्च लाइट बालेर नाक भित्र हेर्नु पर्छ। सिंगानले नाक बन्द भएको अवस्थामा मने तातोपानीमा अलिकति नून हालेर बनाएको झोल औषधी दुइ दुइ थोपा नाकमा हालेर सिंगान पगाल्न दिनु पर्छ। यसरी पग्लिएको सिंगानलाई सफा नरम कपडाको टुक्रा अथवा कपासलाई बत्ति जस्तो बनाई नाकामा छिराएर सफा गर्न सकिन्छ। यसरी नाक सफा गर्दा पनि घ्यारघ्यार कम नभएमा वा छिटोछिटो सास फेर्ने नरोकेमा यथासिघ्र चिकित्सकलाई भेट्नुपर्छ। २ महिना उमेरका शिशुले एक मिनेटमा ६० पल्ट भन्दा बढी, २ महिना देखि एक वर्ष सम्मका बच्चाहरुले एक मिनेटमा ५० पल्ट भन्दा बढी, १ वर्ष देखि ५ वर्ष सम्मका नानीहरुले ४० पल्ट भन्दा बढी सास फेरेमा छिटोछिटो सास फेरेको भानिन्छ र यो निमोनियाको लक्षण हुन सक्छ। सास फेर्दा छातीको तल्लो भागभित्र धसिने (कोखा हान्नु) गम्भीर निमोनियाको अर्को लक्षण हो। विश्व स्वास्थ्य संगठनले ज्वरो, खोकी सहितको छिटोछिटो सासलाई निमोनियाको लक्षण मानेको छ।
१२. लामो समय घरमा बस्दा बच्चाहरुको मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नु पर्छ। बच्चाहरुलाई आफु एक्लै भएको महसूस हुन दिनु हुँदैन। उनिहरुसँग राम्रो समय बिताउनु पर्छ। अधिकांस समय टिभी र मोबाइलमा समय बिताउदा आँखा बिग्रने, टाउको दुख्ने लगाएत मानसिक समस्या देखिने हुन सक्छ। चिड्चिडाहपन, स्मरणशक्ति कम हुने देखि सामाजिक सम्बन्ध स्थापित गर्न गार्हो हुने र अश्लील एबंम हिसात्मक सामाग्रीको लत लाग्ने सम्म हुन सक्छ। तर फोन मार्फत आफन्त र साथि भाइसँग कुराकानी भइरहँदा एक्लोपन हट्ने र समय बिताउन सजिलो हुन्छ।
१३. कुनै दीर्घ रोगको नियमित खाइराखेको औषधि चिकित्सकको सल्लाह बिना बन्द गर्ने वा मात्रा थप घट गर्नु हुदैन। स्टेरोइड जस्ता रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि खानु पर्ने बाल बालिकाहरुलाई कोभिड रोगबाट जोगाउन विशेष साबधानी अपनाउनु पर्छ।
अधिकांस बालबालिकाहरुलाई कोभिड हुदा २-४ दिनको सामान्य लक्षण देखिने र हप्ता दिनमा निको हुन्छन। तर निम्न समस्याहरु देखिएमा तुरन्त स्वास्थसंस्थामा जचाउँनुपर्छ।
१. धेरै ज्वरोको साथ बिरामीको होस कम भएमा वा छारे जस्तो लक्षण देखिएमा
२. बान्ता धेरै भएमा, खाना खान नसक्ने र पिसाब थोरै भएमा
३. छिटो सासको साथमा शरीरमा अक्सिजनको मात्रा ९४प्रतिशत भन्दा कम देखिएमा
४. ओठ मुख निलो भएमा
५. छाति दुखेमा
रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
१. ताजा खाना खाने।
२. हरिया साग, फलफूलको मात्रा बढाउने
३. प्रोटिन युक्त खाना बढाउने,जस्तै: दाल, दुध, दहि, अण्डा
४. हल्का व्यायाम गराउने
५. निद्रा र आरामको लागि जोड दिने।
६. खोप लगाउने
७. आवश्यक परे भिटामिन जस्ता औषधि चिकित्सकको सल्लाह बमोजिम खुवाउने।
बच्चाहरुलाई उपयुक्त मानिएका खोपहरु समयमै लगाइदिँदा धेरै हदसम्म बालबालिकालाई यो रोग बाट टाढा राख्न सकिन्छ। फाइजर कम्पनिले बनाएको mRNA भ्याक्सिन (BNT-162b2)ले ५ वर्ष र माथिका बालबालिकालाई लगाउन अनुमति पाएको छ। अर्को mRNA भ्याक्सिन मोडर्ना १८ वर्षमाथिका सबैलाई लगाउन मिल्ने खोप हो।
नेपाल सरकारले यो वर्षको पुषको पहिलो साता देखि १२ वर्षमाथिका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेको हो। ५-१२ वर्षका बच्चाहरुलाई पनि कोभिडविरुद्धको खोप लगाउने सरकारको तयारी छ।
-(लेखक सिद्धि स्मृति महिला तथा बाल अस्पतालका बालरोग विशेषज्ञ हुन्)