काठमाडौं - आयुर्वेद चिकित्सालय नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको छ। आयुर्वेद क्षेत्र तर्फ पहिलो पटक नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको हो।
लामो समयको प्रयासपछि नरदेवी अस्पताल बीमा कार्यक्रममा सूचीकृत भएको अस्पतालका निर्देशक डा प्रदीप केसीले बताए।
उनले भने, ‘अहिलेसम्म आयुर्वेद स्वास्थ्य बीमामा जोडिएको थिएन। लामो प्रयासपछि हामीले आज बीमा कार्यक्रमका लागि सम्झौता गरेका छौँ। अब पहिलो चरणमा तामिल, पूर्वाधार, जनशक्तिको व्यवस्थापन गर्छौ।’
बिमीतले हाल नरदेवी अस्पतालमा औषधिको मात्र सुविधा पाउँछन्। बीमा अन्तर्गत दिइने सेवाहरुको सूची बनाउने र सोही अनुसार सेवाको व्यवस्थापन गर्ने तयारी भएको उनले बताए। उनका अनुसार हाल स्वास्थ्य बीमा कार्यक्रमले २० देखि २५ प्रकार आयुर्वेदिक औषधिहरु समेटेको छ।
‘बीमामा आयुर्वेदका केही औषधिहरु मात्र उल्लेख छन्। अहिले हामी बीमा कार्यक्रममा जोडियौँ। हामीले दिने मुख्य सेवाहरु दोस्रो चरणमा ती सेवाहरु बीमाको कार्यक्रममा प्याकेजको रुपमा राख्छौँ। यो सबै गर्न एक महिना बढी लाग्छ होला।’, उनले भने।