काठमाडौं - देशभर हाल १३ वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि माघ दोस्रो साता पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्ला २० थियो।
प्रदेश १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र काभ्रेपलाञ्चोक, गण्डकीमा कास्की, लुम्बिनी प्रदेशमा बाँके, रुपन्देही र सुदूरपश्चिमको कैलालीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
यस्तै १४ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, बर्दिया, दाङ र कञ्चनपुर छन्। हाल मनाङमा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।