काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको केही अधिकार कटौती गरेको छ। सरकारले उनको अधिकार कटौती गरेर मन्त्रालयमै अर्की सचिव देवकुमारी गुरागाईंलाई जिम्मेवारी दिएको छ।
अबदेखि मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका डा पोखरेल र प्रशासन तर्फबाट गुरागाईं गरी दुई जना सचिवले काम गर्ने छन्। सरकारले हालै मात्र गुरागाईंलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो।
गुरागाईंलाई सुरुमा जनसंख्या महाशाखा मात्र हेर्न दिने कुरा भएको थियो। तर स्वास्थ्य मन्त्रालयमा यसअघि सेवा गरेका प्रशासन तर्फका सचिवहरुको दबाबपछि गुरागाईंलाई प्रशासन महाशाखाको पनि जिम्मेवारी थप गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।
अब गुरागाईंले मन्त्रालयमा जनसंख्या र प्रशासन हेर्नेछिन् भने डा पोखरेलले अन्य सेवा।
स्वास्थ्यमा दुई जना सचिव हुँदा यसअघि पनि पटक पटक विवाद हुँदै आइरहेको थियो। स्वास्थ्य मन्त्रालयका कर्मचारी फेरि पनि मन्त्रालयमा सचिवहरुको विवाद हुने हो कि भन्ने डर रहेको बताउँछन्।