काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना एघारौँ तहका उच्च अधिकारीहरुको जिम्मेवार हेरफेर गरेका हुन्।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेललाई ल्याइएको छ। यसअघि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक थिए। उनको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा चुमललाल दासलाई ल्याइएको छ। सोही अस्पतालका चिकित्सक डा यज्ञ खरेललाई भने मेसुको जिम्मेवारी दिइएको छ।
डा सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ। पत्र भने बुझ्न बाँकी रहेको उनले बताइन्। उनी डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा भएकी थिइन्। केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी डा प्रकासप्रसाद साहलाई दिइएको छ।
आफुलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने कुरा भएपनि केन्द्रीय कारागारमा सरुवा गरिएको उनले बताए।
उनले भने, ‘मलाई इडिसिडीमा पठाउने कुरा थियो। सचिवज्यू पनि पोजेटिभ हुनुहुन्थ्यो। अहिले अन्तिममा आएर के भयो थाहा नै भएन। मलाई काराकार अस्पतालमा भनेर आएको छ। तर सचिवज्यूले यो भइसकेको छैन भन्नु भएको छ।’
यस्तै, डा श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएपछि राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक पद रिक्त थियो। उक्त ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा सञ्जय ठाकुरलाई पठाइएको छ।
हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख डा डा यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ल्याइएको छ। तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई भने केन्द्रमा पठाइएको छ।
कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ। आजदेखि अस्पतालको जिम्मेवारी सम्हाल्ने तयारी भएको उनले बताए। यसअघि डा अजित रायमाझी अस्पतालको कार्यकारी निर्देशक थिए।