काठमाडौं- एक अध्ययनले गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित रहने देखाएको छ। अमेरिकाले गरेको एउटा अध्ययनले गर्भावस्थामा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवैलाई सुरक्षा प्रदान गर्ने देखाएको हो।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र अमेरिकाका विभिन्न बाल अस्पतालका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनमा गर्भावस्थामा कोभिड खोपले जन्मिने शिशुलाई सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ।
मङ्गलवार सार्वजनिक प्रतिवेदनमा गर्भावास्थामा कोरोना खोप लगाएका माहिलाबाट जन्मिएका शिशुमा कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने सम्भावना समग्रमा कोभिडविरुद्धको खोप ६१ प्रतिशत प्रभावकारी देखिएको पाएको उल्लेख छ।
प्रतिवेदनमा गर्भवती भएको २१ हप्तादेखि सुत्केरी हुनु १४ दिन अगाडिसम्म खोप लगाएकाहरूको शिशुलाई खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गरेको देखिएको दाबी गरिएको छ। यस्तै सीडीसीले गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भको योजना बनाइरहेका महिला र भविष्यमा गर्भवती हुन सक्ने महिला सबैले कोभिडविरुद्धको खोप लगाउन सिफारिस गरेको छ।