काठमाडौं- सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिए। त्यस्तै सरकारले औषधि दर्ता चौथो संसोधन नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
कार्कीले सरकारले ग्लोवल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २०२४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बताए।
त्यस्तै प्रवक्ता कार्कीका अनुसार सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरपरको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको छ।