काठमाडौं- कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको, रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको पाइएको अख्तियारले जनाएको छ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ।
'अनाधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफुखुशी तयार पारी उपलब्ध गराएको, पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा गलत रिपोर्ट बनाउने गरेको, आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने काम गरेकाेले भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।' अख्तियारले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।