काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।
एक जना सचिवले काम गर्दै आएको मन्त्रालयमा सरकारले हालै जनसंख्या र प्रशासन हेर्ने गरी गुरागाईंलाई समेत पठाएपछि कार्यकक्षको समस्या देखिएको थियो। मन्त्रालयले तत्कालै प्रमुख विशेषज्ञ डा श्यामबाबु यादवको कार्यकक्ष खोसेर सचिव गुरागाईंलाई राखेको हो।
सचिवलाई कार्यकक्ष उपलब्ध गराएपछि डा यादव भने कार्यकक्षविहिन भएका छन्। अब डा यादवलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले अझै टुंगो लगाउन सकेको छैन।
१२औं तहका डा यादव कार्यकक्षविहिन भएपछि मन्त्रालयमा यतिबेला उनका लागि कोठा खोज्ने काम भइरहेको छ।
गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय बस्दै आएको कोठा डा यादवलाई दिने विषयमा पनि छलफल भइरहेको एक कर्मचारीले जानकारी दिए।
'डा मदन बस्दै आएको कोठा डा यादवलाई दिने कुरा पनि चलेको छ। तर फेरि डा मदनलाई कहाँ राख्ने त? कोठा नहुँदा अझै अन्यौल नै छ।'
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फ डा रोशन पोखरेल सचिव छन् भने जनसंख्या र प्रशासन तर्फ गुरागाईं। मन्त्रालयमा विगतमा पनि दुई जना सचिवको व्यवस्था थियो। दुई जना सचिवको व्यवस्था हुँदा मन्त्रालयमा सँधै विवाद हुँदै आइरहेको इतिहास छ।