काठमाडौं– वीर अस्पतालले नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आइसीयू तथा एचडियू सेवा थप गरेको छ।
सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियू सहित २९ बेड सहितको सेवा थप गरेको वीर अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
नयाँ भवनमा ननकोभिड बिरामीका लागि ५० वटासम्म आइसीयू सञ्चालन गर्न सक्ने प्रविधि रहेपनि हाललाई १८ वटा आइसीयू मात्र सञ्चालन गरिएको जानकारी दिए। सर्जिकल भवनमा थप गरिएको २९ वटा आइसीयू र एचडियू मध्ये २० वटा पोष्टअप बेडहरु रहेको डा बस्नेतको भनाइ छ।
वीर अस्पतालमा यसअघि ३५ वटा आइसीयू बेड पुरानो भवनमा सञ्चालनमा रहेको छ।
आइसीयू आवश्यकता पर्ने गम्भीर प्रकृतिका बिरामीका लागि अस्पतालहरुमा अझैपनि अभावकै अवस्था रहेको डा बस्नेत बताउँछन्।
बिरामीको चाप बढी भएकाले सेवालाई विस्तार गर्न आइसीयू र एचडियू सहितको २९ वटा बेड थप गरिएको बस्नेतले बताए।
तर आइसीयू बेड सञ्चालनका लागि नर्सिङ जनशक्तिको भने अभाव रहेको उनले जानकारी दिए।
‘सर्जिकल भवनमा ५० बेड कै आइसीयू सञ्चालन गर्न सक्ने क्षमता र प्रविधि छ, तर नर्सिङ जनशक्तिको अभाव छ,’ डा बस्नेतले भने, ‘सरकारले लोकसेवा मार्फत नर्सिङ जनशक्ति बढाउने हो भने त हामीले चलाउन सक्छौं।’
प्रतिबेड एकजना नर्स राख्न पनि एक दिनमा ४ जना नर्स आवश्यक पर्ने डा बस्नेतको भनाइ छ।
वीर अस्पतालमा थप गरिएको एचडीयू सहितको २९ बेड आइसीयू र यसअघि भएको ३५ वेडको आइसीयू सहित ननकोभिड बिरामीका लागि मात्र ६४ बेड पुगेको छ। यी आइसीयू सञ्चालनका लागि मात्र प्रतिबेड एकजना नर्स चार सिफ्टको आधारमा हिसाब गर्दा २५६ जना आवश्यक पर्छ।
तर वीर अस्पतालमा सरकारी सेवा अन्तर्गतका नर्सिङ जनशक्तिको दरबन्दी पर्याप्त नभएको बस्नेतको भनाइ छ।