काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्राङ्गणमा स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। दिवसका अवसरमा मन्त्रालयमा बिहानैदेखि कार्यक्रमहरु भइरहेको छ।
मन्त्रालयले दिवसका अवसरमा मन्त्रालयमा बिहान ९ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अध्यक्षतामा उत्कृष्ट कर्मचारीलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रम समेत राखेको थियो। उक्त कार्यक्रममा मन्त्री खतिवडासहित राज्यमन्त्री भवानी खापुङ, मुख्यसचिव शंकरदास बैरागी, स्वास्थ्य मन्त्रालयकै प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।
तर उक्त कार्यक्रममा स्वास्थ्य सेवा तर्फका सचिव डा रोशन पोखरेल भने अनुपस्थित थिए।
स्वास्थ्य सेवा दिवसकै दिन स्वास्थ्य सेवा तर्फका सचिव डा पोखरेल अनुपस्थित भएपछि स्वास्थ्यका कर्मचारीहरुले गुनासो समेत गरेका छन्।
कार्माचारीहरुको गुनासो र प्रश्नपछि मञ्चमा कार्यक्रम सञ्चालन गरिरहेको यशोधा अर्यालले स्वास्थ्य सचिव डा रोशन पोखरेलको स्वास्थ्यमा समस्या भएर कार्यक्रममा अनुपस्थित भएको जानकारी दिइन्।
सचिव डा पोखरेलको सुगर बढेपछि कार्यक्रममा अनुपस्थित भएको बताइएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव मात्र हुनुपर्ने विषयमा स्वास्थ्यका कर्मचारी संगठनका प्रतिनिधिहरुले मुख्य सचिव बैरागी र मन्त्रीको ध्यानकर्षण गरेका छन्।
मन्त्रालयमा स्वास्थ्य र प्रशासनको सचिव हुँदा विवाद हुनेभन्दै उनीहरुले स्वास्थ्य सेवाको सचिव मात्रा राख्न माग गरेका छन्।