सुर्खेत- कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। गत कात्तिक १६ मा नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमणका कारण यो अवधिमा शून्य मृत्यु रहेको बताए। कोभिड–१९ प्रतिकार्यका लागि खोपको प्रभावकारिता बढ्दै गएको जनाउँदै उनले भने, 'हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसङ्ख्याको पहिलो र दोसो मात्रा ६१ प्रतिशत र प्रदेशको कुल जनसङ्ख्याको ५१ प्रतिशतले पहिलो र ४८ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन्।' १२ देखि १७ वर्षसम्मका सबै लक्षित समूहले कोभिडविरुद्धको खोप लगाइसकेको र ३२ हजारभन्दा धेरैले बुस्टर डोज लगाएको उनले बताए।
कर्णालीको भौगोलिक विकटता, पहुँचविहीन र सीमान्तकृत नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बन्द रहेका प्रदेशभरका आधारभूत सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरिएको मुख्यमन्त्री शाहीले बताए। स्वास्थ्य कार्यालय दैलेख, कालीकोट सल्यान, रुकुमपश्चिम, मुगु र जुम्ला (चन्दननाथ) नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरेर शववाहन खरिदका लागि बजेट पठाइएको प्रदेश सरकारले बताएको छ। रासस