काठमाडौं- नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामध्ये दुई करोड १५ लाख ९४ हजार ८१७ जनाले एक मात्रा र एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पुर्णमात्रा खोप लगाएका छन्।
१३ महिनाको अवधिमा तीन करोड ७२ लाख ३३ हजार ८७२ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ११ लाख ८९ हजार ८१६ जनाले जनाले अतिरिक्तमात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन्। सो समूहका बालबालिकालाई सरकारले छिट्टै खोप दिने घोषणा गरिसकेको छ। मन्त्रालयका अनुसार अबको केहि समयभित्रै यो समूहका बालबालीकाले खोप पाउँने छन्। जसका लागि खोप खरिदको प्रक्रिया सुरु भइसकेको छ। यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक पर्छ।
नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २,०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन्।