काठमाडौं- सरकारले भूमिका स्थान नगरपालिका अर्घाखाचीमा १५ सैयाको आधारभूत अस्पताल निर्माणका लागि जिल्लाको रहेको ९ रोपनी जग्गा राष्ट्रिय वन क्षेत्र उपभोग गर्न स्वीकृत दिने दिएको छ।
फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि भूमिकास्थान नगरपालिका वडा नं ७ चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
प्रवक्ता कार्कीले सबै मुलुकहरुसँग मैंत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी राष्ट्रहरु लगायत अन्य कुनैपनि राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारले प्रतिवद्धता व्यक्त गरेको बताए। त्यसैगरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संघ संस्थाहरुप्रति पनि सरकारले आभार व्यक्त गरेको उनले जानकारी दिए।
सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका मागहरूका बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरिने भएको छ।